राजनीति

प्रधानमन्त्रीमा प्रचण्डले दाबी गर्नु भएको छैन : कांग्रेस प्रवक्ता महत

बिज्ञापन

हेटौंडा : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दावी नगरेको बताएका छन्। 
मंगलबार प्रेस युनियन मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। 

बिज्ञापन

सञ्चारकर्मीहरुले माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दावी गरेको हो भनेर सोधेको प्रश्नमा उनले भने ‘प्रचण्ड जीले दाबी गर्नु भएको छैन। समर्थक शुभेच्छुकले भन्नु भएको होला। प्रधानमन्त्रीको विषयमा औपचारिकरुपमा कुनै सहमति भएको छैन।’ 

उनले निर्वाचनपश्चात् बन्ने गठबन्धनको सरकारको नेतृत्व गर्ने विषयमा सत्तारुढ गठबन्धनभित्र सहमति भइनसकेको बताए। महतले चुनावपछि पनि गठबन्धनको सरकार बन्ने दावी गर्दै प्रधानमन्त्रीको विषयमा गठबन्धनमा हालसम्म कुनै सहमती नभएको बताए।  महतले चुनावपछि बन्ने गठबन्धन सरकारको नेतृत्व कसले गर्ने निर्णय भइनसकेको भएपनि नेपाली कांग्रेसले नै गर्ने दावी पनि गरे। 

उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै ९१ मा कांग्रेस एक्लैले उम्मेदवारी दिएको कारण पनि कांग्रेसले गठबन्धनको नेतृत्व गरिरहेको प्रष्ट हुने बताए। 

‘प्रत्यक्षतर्फको ७४ सिटमा गठबन्धनमा रहेको अन्य चार दलको उम्मेदवारी रहेको छ। यहाँबाटै प्रष्ट हुन्छ नेतृत्वदायी भूमिकामा कांग्रेस रहेको छ भन्ने।’
उनले सहमति नभए पनि कांग्रेसकै नेतृत्वमै आगामी सरकार अगाडि बढ्ने सम्भावना दोहोर्‍याए। 

उनले देशमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि जोड्ने नेतृत्व आवश्यकता रहेको औंल्याउँदै त्यसको नेतृत्व वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले मात्र गर्न सक्ने दावी गरे। ‘ओली जीको नेतृत्व जोड्ने नेतृत्व होइन। सहिष्णु पनि छैन, हाम्रो गठबन्धन भनेको जोड्ने नेतृत्व हो।’, उनले भने। 

महतले ओलीले एउटै बनेको नेकपालाई समेत ३ भागमा विभाजन गरेको भन्दै कांग्रेसले सोही विभाजित पार्टीलाई समेत मिलाएर हिँडेको बताए। डा. महतले अघिल्लो निर्वाचनमा नेकपाले पाँचवर्षे म्यानडेट प्राप्त गरेपनि त्यसलाई जोगाउन नसकेको आरोप लगाए। 

बिज्ञापन