राष्ट्रिय समाचार

भारतले नेपाललाई दियो २ सय गाडी उपहार

बिज्ञापन

भारतले नेपाललाई २ सय वटा सवारीसाधन उपहारस्वरूप उपलब्ध गराएको छ । आगामी निर्वाचनमा प्रयोग गर्नका लागि भारत सरकारले नेपाल सरकारलाई उक्त सवारी साधन उपलब्ध गराएको हो । 

भारत सरकारले उपलब्ध गराएको सवारीसाधन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलवार अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेका छन् । उक्त सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्‍याउने भारत सरकारले विश्वास लिएको जनाएको छ । 

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका उक्त सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ । जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने बताइएको छ । 

अर्थमन्त्री शर्माले यी सवारीसाधनलगायत विकास साझेदारीको रूपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिए । 

बिज्ञापन

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरूमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २ हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४ सय वटा गरी हालसम्म भारतले २ हजार ४ सयभन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ । 

बिज्ञापन
बिज्ञापन