प्रवास

रामदेव भन्छन् ‘बलिउड लागुऔषधको अखडा हो’

बिज्ञापन

योग गुरु रामदेवले बलिउड कलाकारहरु अधिकांशले लागुऔषध सेवन गर्ने गरेको गम्भीर आरोप लगाएका छन् । बलिउड नै लागुऔषध अम्बलीहरुको अखडा भएको बताएपछि रामदेवको आलोचना र समर्थन दुबै हुन थालेको छ ।

उत्तर प्रदेशको मुरादाबादमा नशामुक्त भारत कार्यक्रममा सहभागी हुन पुगेका रामदेवले सर्वसाधारणलाई लागुऔषध प्रयोग नगर्न आग्रह गरिरहँदा बलिउडका स्टारमाथि लागुऔषध प्रयोगकर्ताको आरोप लगाएका हुन् । उनले सलमान खान, शाहरुख खान र आमिर खानको नाम लिँदै उनीहरुलाई लागुऔषध प्रयोगकर्ताको विशेषण भिराइदिएका छन् ।

‘शाहरुख खानका छोरा लागुऔषध लिइरहेका छन् । सलमान लागुऔषध लिन्छन्, आमिरको थाहा छैन । जसलाई फिल्म स्टार भनिएको छ, ती सबै अम्मली हुन् । अभिनेत्रीको निम्ति भगवान नै मालिक हुन् । भारतीय फिल्म उद्योगमा चारैतिर लागुऔषध मात्र छ’, उनले भने ।

रामदेवले बलिउडप्रति निशाना साँधेको यो पहिलोपटक होइन । यसअघि पनि उनले बलिउडप्रति आक्रोश पोख्दै आएका छन् ।

बिज्ञापन

बलिउडमा लागुऔषध मामलामा धेरै कलाकार यसअघि नै पक्राउ परिसकेका छन् । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि लागुऔषध मुद्दाले नयाँ चर्चा पाएको छ । त्यसपछि भारतीय नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ठूला स्टारहरुलाई बोलाएर सोधपुछ गरेको थियो ।

सन् २०२१ मा शाहरुखका छोरा आर्यन मुम्बईको एक क्रुज पार्टीमा पक्राउ परेका थिए । उनलाई लागुऔषध प्रयोग गरिरहँदा साथीसहित पक्राउ परेको आरोपमा जेल नै पठाइएको थियो ।

बिज्ञापन
बिज्ञापन