राष्ट्रिय समाचार

महाकाली अस्पतालमा असारदेखि डायलासिस सेवा सञ्चालन हुने

बिज्ञापन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य अघि बढाइएको छ ।

बिज्ञापन

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अर्जुन भट्टले आगामी असारभित्र सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य सुरु गरिएको बताए । उनले भने, “असारभित्रै सेवा सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ, ठेक्का प्रक्रियाद्वारा भवन निर्माण भइरहेको छ । जनशक्ति तयारी अवस्थामा छ ।”
उनका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माणका लागि ५८ लाखमा ठेक्का सम्झौता भएको छ । सम्झौतानुसार निर्माण सुरु भएको छ । अस्पतालमा सो सेवा सञ्चालनका लागि पाँच मेसिन खरिद गरिएका छन् । ती मेसिनको मूल्य एक करोड २५ लाख रहेको छ । अस्पतालले स्वास्थ्यकर्मीलाई तालिमका लागि समन्वय अघि बढाएको छ ।
उनका अनुसार सेवा सञ्चालन भएपछि दैनिक १० देखि १५ जनालाई डायलासिस गर्न सकिन्छ । अहिले कञ्चनपुरमा मात्रै सय बढी मिर्गौलाका बिरामी सेती प्रादेशिक अस्पताल र सीमावर्ती भारतीय बजारमा डायलासिस गराइरहेका छन् । यसैगरी अस्पतालमा जडान हुने दुईवटा अक्सिजन प्लान्टमध्ये एक प्लान्ट जडान भई उत्पादन सुरु भएको छ । अर्को अक्सिजन प्लान्ट जडानका लागि काम अगाडि बढाइएको छ । अस्पतालमै प्लान्ट जडान भएपछि बिरामीले अक्सिजनकै लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

बिज्ञापन