राजनीतिराष्ट्रिय समाचार

गिरिजालाई राष्ट्रपति नबनाउनु ठूलो गल्ती थियो : प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूबाट गल्ती भएको कार्यकर्तामाझ स्वीकार गरे ।
‘ठूलो पार्टीका रुपमा स्थापित भएपछि हाम्रो खुट्टा भुइँमा भएन । गिरिजाप्रसाद कोइराला विचरा, त्यो बुढो मान्छे । जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो । उहाँले राष्ट्रपति बन्न खोज्दा दिइएन’, प्रचण्डले भने, ‘खुरुक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो । अहिले फर्केर हेर्दा अनौठो लाग्छ ।’

यस्तै रुक्माङ्गत कटवाललाई प्रधानसेनापतिबाट हटाउन डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलले अनावश्यक दबाब दिएको प्रचण्डले बताए ।
तीन महिनामा कार्यकाल सकेर घर जान लागेका कटवाललाई चलाउँदा माओवादीले सरकारको नेतृत्वसहित धेरै विषय गुमाएको स्मरण उनले गरे । ‘दायाँ र बायाँ बस्नेहरु ठोक भन्छन् । म अली उदार मान्छे । दायाँ बाबुराम छन् बायाँ बादल छन्’, उनले भने, ‘बढो क्रान्तिकारी भएर तीन महिनापछि जान लागेको रुक्माङ्गत कटलाललाई हटाउँदा सरकार, राष्ट्रपति सबै गयो ।’ त्यतिबेला प्रचण्ड प्रधानमन्त्री थिए भने बाबुराम अर्थ तथा बादल रक्षामन्त्री थिए ।

बिज्ञापन

प्रचण्डले ०७४ को निर्वाचनपछि काँग्रेस सभापति शेरबहादुर देउवा र मधेस केन्द्रित दलका नेता बारम्बार आफ्नो निवास खुमलटार आएर पाँच वर्षका लागि एकलौटी प्रधानमन्त्री बन्न आग्रह गर्दासमेत बाम गठबन्धनको भावनाअनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाएको बताए । तर, चार वर्षमै आफूले पटकपटक बुढानिलकण्ठ गएर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गर्नुपर्ने अवस्था आउनुलाई उनले विचित्रताको संज्ञा दिए ।

‘०७४ को चुनावपछि शेरबहादुरजी र मधेसवादी दलका नेताहरु खुमलटार आउनुहुन्थ्यो र मलाई प्रधानमन्त्री भइदिनुस् । पाँच वर्षको निम्ति एकलौटी माओवादीले मात्र सरकार चलाए हुन्छ भन्नुहुन्थ्यो । मैले हुँदैन हामीले वाम गठबन्धन गरेर चुनाव लड्यौं । कम्युनिष्टहरुलाई एकताबद्ध गर्न भनेर चुनाव लडिएकाले अहिले मैले काँग्रेस र मधेसवादी दलको समर्थन लिएर प्रधानमन्त्री भएँ भने अरुले के भन्छन् थाहा छैन । मैले आफैंले आफैंलाई धिक्कार भन्नुपर्ने हुन्छ । त्यस्तो प्रधानमन्त्री मलाई मान्य छैन भनेर इन्कार गरेको थिएँ’, उनले भने, ‘तर, चार वर्ष बित्दानबित्दै मैले फेरि बुढानिलकण्ठमा देउवाजीलाई तपाई प्रम भइदिनुस् हामी साथ दिन्छौं भन्ने परिस्थिति पैदा भयो । यसलाई राजनीतिको विचित्र बिडम्बना भन्नुपर्छ । राजननीतिमा कुनै पनि कुरा असम्भव छैन भन्ने यसबाट देखिन्छ ।’

देउवालाई प्रधानमन्त्री बन्नका लागि मनाउन आफूलाई हप्तौं लागेको उनले सुनाए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।