राष्ट्रिय समाचार

घरभित्र पसेको निहुँमा दलित बालिकालाई २० घण्टासम्म बाँधेर यातना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रामेछाप । नेपालको संविधानले छुवाछूत तथा भेदभावविरुद्धको हकको व्यवस्था गरेको छ। धारा २४ (१) मा लेखिएको छ, ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन ।’ तर, समाजमा जातीय छुवाछूत कायमै रहेको मन्थली नगरपालिका–१३ भलुवाजोरमा भएको घटनाले देखाएको छ ।

स्थानीय शेरबहादुर श्रेष्ठले आफ्नो घरमा प्रवेश गरेको भनी छिमेकी १३ वर्षीया सरिता नेपालीलाई यातना दिएका छन् । श्रेष्ठले सोमबार अपराह्न ४ बजेदेखि मंगलबार मध्याह्न १२ बजेसम्म २१ घण्टा थाममा अबोध बालिकालाई नाम्लोले बाँधेर राखेका हुन् ।

बिज्ञापन

अमानवीय ढंगले कपाल, खुट्टा र हातमा पनि डोरीले बाँधेको पीडित नेपालीले बताइन् । बालिकाले श्रेष्ठको घरमा छिरी भाँडोमा राखेको दही खाएको, घरवालाले देखेपछि ढाडमा लौरोले हिर्काएको पीडित पक्ष बताउँछ ।

जनप्रतिनिधिले छोडिदिन अनुरोध गर्दा आरोपितले ‘दलित घरभित्र पसेर अछुतो बनाइदिएकाले घर चोख्याउने खर्च नदिएसम्म नछोड्ने’ अडानमा बसेका थिए । बालिकाले घरभित्र पसेर ‘दही चोरेका’ ले बाँधेर राखिएको श्रेष्ठको भनाइ थियो । आपूmले छोडिदिन अनुरोध गर्दा घर अछुतो भएकाले घरको जिम्मा लिनुपर्ने, रुद्रिपूजा लगाइदिनुपर्ने भन्दै छोड्न नमानेको मन्थली–६ की सदस्य भक्तमाया श्रेष्ठले बताइन् ।

बालिकालाई बाँधेर राखेको सूचनाका आधारमा घटनास्थल पुगेका प्रहरीले नाम्लो फुकाउन लगाएका थिए । प्रहरीले खुस्काउन भनेपछि मात्र बालिकालाई बाँधेको नाम्लो घरधनी भगवती श्रेष्ठले फुकाइदिएकी थिइन् ।

बाबा नभएको र गरिबीको कारण पीडितकी आमाले पीडकको घरमै सहयोग मागेर गुजारा चलाउँदै आएकी थिइन् । पीडितकी आमा मोबाइल नबोक्ने र आफ्नो जीविकोपार्जनका लागि मन्थली आएका कारण तत्काल परिवारमा कसैलाई सम्पर्क गर्ने अवस्था भएन ।

यो घटनाको खबर सुनेपछि हेर्न जाँदा हात, कम्मर र खुट्टामा बाँधेर बस्नसमेत अप्ठेरो हुने गरी राखेको भेटिएको पीडितका ठूलोबुवा सार्के नेपालीले बताए । छोड्न अनुरोध गर्दा घर चोख्यान, रुद्रिपूजाको गर्न लाग्ने खर्च नदिएसम्म नछोड्ने भनेपछि गाउँलेलाई घटनाबारे जानकारी गराएको नेपालीले बताए ।

घरको थाममा बाँधेर सिस्नु लगाउँदै लौरोले कुटपिट गरेको पीडितले बताइन् । बाँधेर राखिएकाले राति शौचालय जान पनि अप्ठ्यारो भएको उनले सुनाइन् । शौचालय जाँदा घरधनीले बाँधेकै अवस्थामा लगेका थिए। पीडित दुई दिनअघि मात्र रजस्वला भएकी पाइएको छ । २१ घण्टासम्म घरबाहिर बाँधेर राख्दा उनको शरीरमा झिंगा भन्किरहेको थियो । साभार–अन्नपूर्ण पोष्ट

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।