एक वर्षमा प्राकृतिक विपद्बाट ५०४ जनाको मृत्यु, दुई अर्ब ६१ करोडको क्षति

काठमाडौं । गएको एक वर्षमा विभिन्न प्रकारका प्राकृतिक विपद् परेर ५०४ को मृत्यु भएको छ । ०७८ वैशाख १ देखि चैत २९ सम्म विपद्का प्रमुख घटनामा उनीहरूको ज्यान गएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको रिपोर्टले यस्तो जानकारी दिएको हो ।
प्राधिकरणको रिपोर्टकाअनुसार एक वर्षमा ७६ जना बेपत्ता भएका छन् । विशेषगरी प्राधिकरणले १५ शीर्षकमा दुघर्टनाका रिपोर्ट सार्वजनिक गरी घटनाबारे जानकारी दिएको हो । जसमा पहिरो, बाढी, भारी वर्षा, चट्याङ्ग, सर्पदंश, आगलागी, जंगल आगलागी, हावाहुरी, जनावर आतंक, महामारी, हिउँ हुरी, हिम पहिरो, लेक लाग्नु, डुंगा पल्टेर र भूकम्प रहेका छन् । यी शीर्षकमा ३ हजार ८९६ घटना घटेका छन् ।
यसैगरी, १ हजार ७७७ मानिस यी दुघर्टनामा परी घाइते भएका छन् भने यी घटनाहरूबाट ६ हजार १२९ परिवार प्रभावित भएका छन् । यसवर्ष सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । जसमा २ हजार ३६३ घटना घटेको तथ्यांक छ ।

सबैभन्दा बढी परिवार २ हजार ८४० पनि आगलागीकै घटनाबाट प्रभावित भएका छन् । भूकम्प र महामारी शीषर्कमा दुई÷दुुई वटा घटना घटेका छन् भने मृत्यु हुनेमा सबैभन्दा बढी पहिरो रहेको छ । पहिरोका ३४४ घटनामा १८२ जनाको ज्यान गएको छ । यी सबै प्राकृतिक विपतबाट २ अर्ब ६१ करोड भन्दा बढीको क्षतिको अनुमान गरिएको छ ।
नेपाल वर्षको १२ महिना नै रोगव्याधिदेखि प्राकृतिक विपत्तिको जोखिममा रहेकाले विपद् अघिको पूर्व तयारीमा लाग्नुपर्ने प्राधिकरणका सीईओ अनिल पोखरेलले बताए । उनले प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न प्राधिकरणले पूर्व तयारी, विपद्को सामना र विपदपछिको व्यवस्थापनमा रणनीतिक रूपमा अघि बढेको जानकारी दिए ।
चैत वैशाखमा हावाहुरीको समय हुुँदा अहिले घर तथा जंगलमा आगलागीका घटना बढिरहेको जिकिर गर्दै उनले भने, “घटना मात्रै नभई विपद् अगाडिका पूर्व तयारीका कुराबारे आम मानिसलाई जानकारी दिनुपर्छ । यसका लागि मिडियाको सहकार्य पनि महत्वपूर्ण रहन्छ ।”
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
प्राधिकरणले विपद्बारे जानकारी दिन विपद् पोर्टल सञ्चालन गरिरहेको छ । यस्तै, प्राधिकरणले वर्षा र बाढीबारे थाहा पाउन ११५५ र उद्धारका लागि मद्दत माग्न ११४९ टोल फ्री नम्बर सञ्चालन गरिरहेको छ ।