राजनीति

कैलालीमा एमाले र जसपाबीच चुनावी तालमेलका लागि छलफल

बिज्ञापन

धनगढी । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कैलालीमा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलका विषयमा छलफल सुरु भएको छ ।

बिज्ञापन

केन्द्रमा पाँच दलीय गठबन्धनमै सामेल जसपा सुदूरपश्चिममा भने सत्तारुढ दलसँग असन्तुष्ट छ । सरकारका मन्त्री हेरफेर गर्दा आफ्नो पार्टीसँग कुनै समन्वय नगरेको भन्दै जसपा रुष्ट बनेको हो ।

शनिबार मात्रै गठबन्धनबाट बाहिरिने घोषणा गरेको जसपाले लगत्तै कैलालीमा चुनावी तालमेलका लागि एमालेसँग छलफल गरेको हो । सोमबार जसपा र एमालेले जिल्लामा मिलेर चुनावमा जान सकिने सम्भावनाबारे छलफल गरेका हुन् ।

संघीय सरकारमा गठबन्धनमा आबद्ध दलहरूले सुदूरपश्चिम प्रदेशमा आफूहरूलाई नटेरेपछि जिल्लामा अन्य शक्तिहरूसँग छलफल सुरु भएको जसपाका कैलाली जिल्ला अध्यक्ष गयाप्रसाद कुश्मीले बताए ।

जिल्लामा गठबन्धन निर्माणका लागि जसपाका अध्यक्ष कुश्मी, एमाले केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य रणबहादुर चन्द र घोडाघोडी नगरपालिका प्रमुख ममता चौधरीबीच धनगढीमा छलफल भएको हो । छलफलमा जिल्लामा गठबन्धन गरेर जानका लागि छलफललाई अघि बढाउने सहमति भएको छ ।

एमाले निर्वाचन परिचालन समितिका सदस्य रणबहादुर चन्दले जसपासँग गठबन्धनको सम्भावनका बारेमा गरिएको छलफल सकारात्मक रहेको बताए । सुदूरपश्चिम सरकारमा आफ्नो पार्टीलाई सहभागी नगराएपछि जसपा गठबन्धनप्रति रुष्ट बनेको छ ।

बिज्ञापन