राजनीति

डोटीमा २२२ जना वडाध्यक्षमा एक जना मात्रै महिला उम्मेदवार

बिज्ञापन

डोटी । रमा साउँद, २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट डोटीको शिखर नगरपालिका–५ को वडा सदस्यमा उम्मेदवार बनिन् । उनी ४१८ मत प्राप्त गरी विजयी पनि भइन् ।
सदस्य पदमा निर्वाचित भए पछि उनी नगर कार्यपालिकाको सदस्य समेत भइन् । पाँच वर्ष स्थानीय तहको अनुभव बटुलेकी रमालाई यसपाली वडाध्यक्ष बन्ने सुर चल्यो । उनले वडाध्यक्षको उम्मेदवार बन्ने भन्दै कांग्रेसको बैठकमा आफ्नो दाबी पेश गरिन् । पुरुष प्रधान समाजमा सुरुमा उनको दाबीलाई त्यति महत्व दिइएन । तर, अन्ततः वडाध्यक्षको उम्मेदवार भइ छाडिन् ।

बिज्ञापन

डोटीमा ६५ वटा वडा छन् । ६५ वटा वडाको वडाध्यक्ष पदका लागि दाबी गरेका २३२ मध्ये १० जनाले उम्मेदवारी फिर्ता लिए । हाल २२२ जना चुनावी मैदानमा छन् । जहाँ रमा एक्ली महिला उम्मेदवार हुन् ।

टिकट पाउन पार्टीभित्र लडाइँ लड्नु परेको रमा बताउँछिन् । ‘पुरुषकै बोलबाला चल्ने समाजमा हामी महिलाहरुको आवाज कमै सुनिन्छ,’ रमा भन्छिन्, ‘टिकट पाउन त्यति सजिलो भएन, लडेरै लिएकी हुँ भन्दा हुन्छ ।’ करिब १२ वर्षको राजनीतिक यात्रा र पाँच वर्षसम्म वडा सदस्य भएर काम गरेको अनुभवले आफूलाई वडाध्यक्षको नेतृत्व गर्न सक्छु भन्ने लागेर उम्मेदवारी दाबी गरेको रमा बताउँछिन् । उनी आफू जित्ने कुरामा पनि ढुक्क छिन् । भन्छिन्, ‘महिलाहरु पनि नेतृत्व गर्न सक्छन् भन्ने विश्वास गरेर मलाई मत दिनु हुनेछ भन्ने आशा लिएकी छु ।’

बिज्ञापन