राष्ट्रिय समाचार

सरकारको नीति तथा कार्यक्रम जेठ ७ गते प्रस्तुत गरिने

बिज्ञापन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

बिज्ञापन

सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले जेठ ३ गते दिउँसो ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् । सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने प्रवक्ता पाण्डेले बताए । उनले बजेट अधिवेशनको लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको बताए ।

प्रवक्ता पाण्डेका अनुसार जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटमा छलफल, १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षण सम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताए ।

जेठ ३ गते अर्थमन्त्री जनार्दन शर्माले सदनमा बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेस गर्नेछन् । जेठ ४ र ५ गते प्रि–बजेट छलफल हुन्छ । जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्यक्रम रहेको छ । त्यसको संशोधन र छलफल ८, ९, १० र ११ गते निर्धारण हुने देखिन्छ ।

‘जेठ १२ वा १३ गते अर्थमन्त्री जनार्दन शर्माले सदनमा आर्थिक सर्वेक्षण पेस गर्नुहुन्छ’, प्रवक्ता पाण्डेले भने, ‘त्यसपछि संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण हुन्छ ।’ उनले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने बताए । पाण्डेका अनुसार प्रतिनिधि सभासँगै ३ जेठ बाट राष्ट्रिय सभाको बैठक पनि शुरु हुनेछ ।

बिज्ञापन