राष्ट्रिय समाचार

दुई दिन बिदा दिँदा पाठ्यभार पूरा हुँदैन : निजी विद्यालय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनले दुई दिन बिदाका कारण पाठ्यभार पूरा गर्न सम्भव नहुने प्रतिक्रिया दिएको छ । बुधबार शिक्षा मन्त्रालयले विद्यालयमा शनिबार र आइतबार गरी सातामा दुई दिने बिदा दिने औपचारिक निर्णय गरेसँगै निजी विद्यालयले पाठ्यभार पूरा गर्न नसकिने प्रतिक्रिया दिएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष डिके ढुङ्गानाले सातामा दुई दिन बिदा गर्दा शिक्षा नियमावलीमा भएको व्यवस्था विपरीत १८० दिन पढाई हुन नसक्ने बताए । ढुङ्गानाले ् भने, ‘शिक्षा नियमावली अनुसार वर्षमा २२० दिन विद्यालय खोल्नुपर्छ र १८० दिन पढाउनैपर्छ । तर नयाँ व्यवस्थाले अब त्यो सम्भव छैन । पाठ्यक्रमको विकास गर्दा नै १८० दिनको पाठ्यभार राखेर डिजाइन गरिएको छ । तर अब वर्षमा औषतमा दुई सय दिन विद्यालय खुल्दा नतिजा प्रकाशन लगायतको कामका कारण १८० दिन पढाउन सम्भव हुँदैन । जसका कारण पाठ्यभार पूरा गर्न सकिँदैन ।’

बिज्ञापन

ढुङ्गानाका अनुसार पाठ्यभार पूरा नभएको अवस्थामा आफूहरुले विदाका दिन पनि विद्यालय खोलेर पढाउने बताए । उनले भने, ‘अब कक्षा नै सकिएन भने त जसरी पनि पढाउनुपरयो नि ? हिउँदे र वर्षे विदा कटौती गर्ने कुरा पनि त्यति सम्भव छैन । किनभने हिमालमा हिउँ पर्ने समयमा विदा दिनैपर्छ, पहाड र तराईमा वर्षामा विदा दिनैपर्छ । त्यसकारण यी दुवै कुरा त्यति सहज छैन । त्यसकारण पाठ्यभार नै पूरा हुँदैन भन्ने हाम्रो चिन्ता हो ।’

ढुङ्गानाका अनुसार कोभिड १९ का कारण विद्यार्थीको शैक्षिक गुणस्तर खस्किएको छ । त्यसकारण पनि यस वर्ष विद्यालयमै राखेर विद्यार्थीलाई पढाउने व्यवस्था हुनुपर्नेमा फेरि धेरै विदा दिँदा विद्यार्थीको सिकाइमा असर गर्ने बताए । उनले अगाडि भने, ‘अघिल्ला दुई वर्ष भौतिकरुपमा कक्षा सञ्चालन गर्न नसकेकाको परिपूरण यसपटक गर्नुपर्ने थियो, तर फेरि दुई दिन विदाको निर्णय भयो । सरकारको निर्णय मान्दैनौ त हामी भन्दैनौँ तर पनि निजी विद्यालय कम विदाको पक्षमा छ ।’

सरकारले पेट्रोलियम पदार्थको खपतलाई लिएर सातामा दुई दिन विदा दिने निर्णय गरेको भएपनि पेट्रोलियम पदार्थको मूल्य सस्तिएको अवस्था वा समय अनुकुल भएपछि दुई दिन विदाको व्यवस्था हट्ने आफूहरुको अपेक्षा रहेको ढुङ्गानाले बताए । उनले भने, ‘यो विदा लामो समय जान्छ भन्ने मलाई लाग्दैन, त्यसकारण पनि दुई तीन महिनापछि सातामा ६ दिन नै विद्यालय खुल्छ भन्ने मलाई लागेको छ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।