अर्थ

आगामी बजेटमा ऊर्जा मन्त्रालयले १ खर्ब १२ अर्ब पाउने

बिज्ञापन

काठमाडौं । आगामी जेठ १५ मा आउने बजेटबाट ऊर्जा, सिंचाइ तथा जलस्रोत मन्त्रालयले करिब एक खर्ब १२ अर्ब रुपैयाँ बजेट पाउने भएको छ । आर्थिक वर्ष २०७९÷०८० को बजेटबाट ऊर्जाले यो रकम पाउने भएको हो ।
मन्त्रालयले पाउने कुल बजेटमध्ये ऊर्जातर्फ करिब ८५ अर्ब ३ करोड रुपैयाँ र जलस्रोत तथा सिंचाइतर्फ करिब २७ अर्ब ९० करोड रुपैयाँ पाउने मन्त्रालय उच्च स्रोतको दाबी छ ।

बिज्ञापन

यसमा ऊर्जातर्फ चालु खर्चका लागि तीन अर्ब २३ करोड रुपैयाँ र पुँजीगततर्फ ११ अर्ब २१ करोड रुपैयाँ पाउने जनाइएको छ ।

यस्तै, जलस्रोत तथा सिंचाइको चालुतर्फ एक अर्ब ३५ करोड रुपैयाँ र पुँजीगततर्फ २६ अर्ब ५४ करोड रुपैयाँ पाउने निश्चित भएको पनि मन्त्रालय स्रोतको दाबी छ ।

आगामी दुई वर्ष सबैलाई राष्ट्रिय प्रणालीको विद्युत दिने गरी आगामी बजेटमार्फत् कार्यक्रम घोषणा गर्ने योजना ऊर्जा मन्त्रालयको छ । त्यसका लागि समेत बजेटमा कार्यक्रम आउनेछ । नेपाल विद्युत प्राधिकरणका अनुसार अहिले करिब ९४ प्रतिशत विद्युतीकरण भएको छ ।

त्यसैगरी विद्युतीय चुल्हो प्रवर्द्धन र प्रोत्साहनका लागि समेत कार्यक्रम ल्याउन लागिएको छ ।

यस्तै, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रसारणलाइनहरुलाई अपग्रेड गर्ने योजना पनि बनाइएको छ । उपत्यकासहित विभिन्न स्थानको विद्युत वितरण प्रणाली समेत गुणस्तरीय विद्युत प्रवाह गर्न सक्ने गरी अपग्रेड गर्न लागिएको छ। यी योजना पनि बजेटमा पर्ने सम्भावना छ ।

साथै, आगामी वर्ष सात सय मेगावाट विद्युत राष्ट्रिय प्राणालीमा थप गर्ने योजना छ । विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माणाधीन १११ मेगावाटको रसुवागढी, माथिल्लो सान्जेन १४.८ मेगावाट, सान्जेन ४२.५ मेगावाट सम्पन्न गरिसक्ने योजना छ ।

निजी क्षेत्रबाट प्रवर्द्धिधत ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला , ५४ मेगावाटको सुपर दोर्दी ’ख’ लगायतका आयोजना पनि पूरा गरेर सात सय मेगावाट विद्युत प्रणालीमा थप गर्ने योजना छ ।

बिज्ञापन