घरभित्रै युवकको हत्या गरी खोलामा फाल्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौंमा युवकको हत्या गरी शव खोलामा फालेको आरोपमा दुई जना पक्राउ परेका छन् । उपत्यका प्रहरी अपराध महाशाखाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–८ बराम्चेका ३५ वर्षीय जीवन भन्ने कान्छा तामाङको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर बाग्मती गाउँपालिका–६ फापरबारी सानो कायरका ठोकर कान्छा भन्ने कान्छामान ठोकर र ललितपुर गोदावरी नगरपालिका–६, लेलेकी गायत्री नगरकोटी छन् ।

उनीहरुले बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसरभित्र रहेको भवनभित्र हत्या गरी जीवनको शव विष्णुमती खोलामा फालेको आरोप छ । वैशाख २८ गते हत्या गरेर तन्ना र खरानी रङको म्याट्रिसले बेरेर दक्षिणकालीस्थित पावरहाउस नजिकै खोलामा फालेका थिए । जेठ ५ गते शव फेला परेको थियो । हत्यामा संलग्न रहेका मकवानपुरको बाग्मती गाउँपालिका फापरबारीका दिपक वाइवा तामाङ फरार छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
