घटना समाचार

दुर्घटनामा परेका चार भारतीय एकै परिवारका, सम्बन्ध विच्छेद गर्नुअघि मुक्तिनाथ आएका थिए

बिज्ञापन

काठमाडौँ । मुस्ताङमा दुर्घटनामा परेका चारजना भारतीय नागरिक एकै परिवारका भएको खुलेको छ । दुर्घटनामा पर्ने भारतीयमा महाराष्ट्र ठाणेका ५४ बर्षीय अशोक त्रिपाठी, उनकी ५१ बर्षीय श्रीमती वैभवी बाँदेकर त्रिपाठी , उनीहरूका २२ बर्षीय छोरा धनुष र १८ बर्षीय छोरी ऋतिका त्रिपाठी रहेको भारतीय दुतावासले जनाएको छ ।

बिज्ञापन

उनीहरू मुक्तिनाथ दर्शनका लागि जाँदै गर्दा विमान दुर्घटनामा परेका थिए । भारतीय पत्रिका दैनिक भास्करले जनाए अनुसार अशोक र वैभवी लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्दै चाँडै सम्बन्ध विच्छेदको तयारीमा थिए । छोराछोरी हुर्किसकेका बेला बर्षौको वैवाहिक सम्बन्धलाई टुङ्याउने तयारीमा रहेका यी दम्पतिको मरण भने अप्रत्याशित रुपमा सँगै हुन पुग्यो ।

उनीहरूले सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएका थिए । अदालतले उनिहरुलाई फैसला नआएसम्म हरेक बर्षको १० दिन सँगै बिताउन निर्देशन दिएको थियो । त्यसकारण उनीहरू छोराछोरीसहित नेपाल घुम्न आएका थिए । संयोग भनौँ वा दुर्भाग्य उनीहरूले १० दिन विताउन छनोट गरेको मुक्तिनाथको यात्रा नै उनीहरूको जीवनको अन्तिम यात्रा बन्यो । छुट्टिन चाहिरहेका उनीहरूले सँगै मृत्युवरण गर्नुपर्यो ।
यो भ्रमणमा अशोकका साथ उनका एक भाइ पनि जान चाहन्थे तर अन्तिम समयमा योजना बदलेको खबरमा उल्लेख छ ।

दुर्घटनाको जानकारी पाएपछि वैभवीका छिमेकीले यो निकै दुर्भाग्यपूर्ण भएको र सबैजना स्तब्ध भएको बताएका छन् । वैभवीको घरमा वृद्ध आमा मात्रै रहेको र उनको पनि केही दिनअघि मात्र शल्यक्रिया गरिएको उनीहरुले जानकारी दिएका छन् ।

वैभवी मुम्बईको एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा कार्यरत थिइन् । छोरा धनुष इन्जिनियरिङ पास गरेका छन् भने छोरी ऋतिका पनि अध्ययनरत छिन् ।

अशोक ओडिशामा आफ्नै मानव संशासन सम्बन्धि कन्सल्टेन्सी फर्म चलाउँछन् । उनका परिवारका अरु सदस्य भने पुणेमा बस्छन् । दुर्घटनाको जानकारी पाएलगत्तै सबै परिवार राति नै ठाणे पुगेका थिए । अशोकका बुबा जिल्ला न्यायाधीश थिए । उनको ११ वर्षअघि र आमाको २ वर्ष अघि निधन भएको थियो ।

बिज्ञापन