आस्था /आध्यात्म

संसारमा सबैभन्दा प्रिय भाषा भनेको नै प्रेमको भाषा हो– नरबहादुर रावल, अध्यक्ष (स.नि.मं. नेपाल)

बिज्ञापन

सुर्खेत, २५ असार । ‘संसारमा सबैभन्दा प्रिय भाषा भनेको नै प्रेमको भाषा हो’ सुर्खेत जिल्लाको बीरेन्द्रनगरमा अवस्थित सत्संग भवनमा हिजो शनिबार आयोजित साप्ताहिक सत्संगमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले उक्त कुरा बताउनुभएको हो ।
उहाँले ‘प्रेम’ शब्दको बर्णन गर्दै भन्नुभयो कि यो जुन प्रेम शब्द रहेको छ त्यो केवल ढाई अक्षरले मात्र बनेको छ । हामीले प्रेमको भाषाबाट संसारमा भाइचारा स्थापित गर्न सक्छौ । आज सत्गुरु माता जीले हामीलाई प्रेमको भाषा सिकाई रहनु भएको छ । संसारमा सबैभन्दा प्रिय भाषा भनेको नै प्रेमको भाषा हो । आज त्यसैको अनुसरण यस निरंकारी मिशनले गरिरहेको छ । हामीमा कसैलाई दिने कुनै शक्ति नभएपनि केवल प्रेमको भाषा छ भनेपनि त्यो प्रचुर हुन्छ । प्रदुषण भित्र होस वा बाहिर दुबै हानिकार हुन्छ । आज बाहिरी प्रदुषणलाई कम गर्न अनेकौं कार्यहरु भइरहेका छन् तर भित्र प्रदुषण त केवल यस सच्चा ज्ञान, सच्चा भक्ति, सदभाव, सदविचारबाट मात्र हुन सक्छ । जहाँ सदभाव, सदविचार छ त्यहाँ भगवानको वास रहेको हुन्छ ।

बिज्ञापन

परमात्माका एक छ तर यसलाई विभिन्न नामले पुकारिने गरिन्छ । जस्तै पानीलाई विभिन्न भाषामा अनेकौ नामले उच्चारण गरिन्छ । यस्तै प्रकारले जबसम्म हामी परमात्मा–ईश्वरलाई जान्दैनौ तबसम्म हामी एक–अर्काको हुन सक्दैनौ । हामी यहाँ विभिन्न भाषाभाषि, चाल–चलन, रितिरिवाजमा आवद्ध छौ । यसरी धर्म परिवर्तन होइन, भावना परिवर्तन गरौं, सोच परिवर्तन गरौं । सन्त निरंकारी मिशनले कसैको धर्म, जात, रितिरिवाज, संस्कृति, संस्कारलाई परिवर्तन गराउदैन । मिशनको एउटै उद्देश्य रहेको छ– ‘केहि पनि बन बधाई छ तर पहिले मानव बन’ भन्ने धारणालाई आत्मा साथ गरेर आज मिशन संसारमा अगाडि बढिरहेको छ, त्यसैले हामीमा मानवता हुनु आवश्यक छ । संसारमा विभिन्न धर्म–ग्रन्थहरुलाई पल्टाएर हेर्छौ भनेपनि त्यहाँ यो कुरा उल्लेख गरिएको छैन कि संसारमा रहेका विभिन्न पशु–किटपतंङ्गलाई तिमी मानव बन । मानवलाई मानव बनाउनको लागि यो मिशन रहेको छ, यही नै यसको उद्देश्य रहेको छ । विभिन्न काम नलाग्ने भंगारलाई एकत्रित गरेर कुनै यन्त्रद्वारा त्यसलाई फेरि नयाँ बस्तु बनाउने गरिन्छ, त्यसै प्रकार बिग्रेका, भत्केका, विभिन्न गलत आचारणमा लागेका मानव प्राणीहरुलाई सच्चा मानव बनाउने यो निरंकारी मिशन एउटा पाठशाला हो । आज मिशनमा हामी त्यस प्रकारका मानव प्राणीहरु सुध्रिएका पाउँछौ । संसारमा सबै चीज परिवर्तन छ केवल यो परमात्मा मात्र परिवर्तन छैन । यससंग नाता जोड्नु अति आवश्यक छ, यसलाई जान्नु आवश्यक छ । भनिन्छ जसको पूजा, जसको भक्ति त्यसलाई जान्नु जरुरी छ । हामीले जसको पूजा–पाठ गरिरहेका छौ, जसको भक्ति गरिरहेका छौ त्यसलाई जान्नु जरुरी छ, नत्रभने हामीले पूजा–पाठ, भक्ति गरेको कुनै सार्थक हुँदैन । चोर, ठगहरुले पनि ईश्वरको नाम लिरहेका हुन्छन् यसरी केवल नाम लिनुले पनि कुनै सार्थकता हुँदैन । जसको नाम लिईन्छ त्यसको जानकारी हुनु आवश्यक छ ।

उहाँले अगाडि भन्नुभयो कि आज सत्गुरु माता जीले हामीलाई ब्रम्हज्ञान प्रदान गरेर यस निरंकारको जानकारी गराउनुभयो जसको फलस्वरुप आज हामी विभिन्न जातजति, भेषभूषा, रहन–सहन, संस्कृति मान्नेहरु एक भएर यो सत्संगको आनन्द उठाई रहेका छौ । जबसम्म हामी यस निराकारलाई जान्दैनौ तबसम्म हाम्रो मनमा एकताको भावना आउन सक्दैन । सत्संगमा आउँदा पनि हामीले अनुशासनको पालना गर्नु अति आवश्यक हुन्छ । अनुशासनको परिधिभित्र बसेर यस दातारको गुणगान गाऊ जसबाट हाम्रो भक्ति प्रवल हुन जान्छ र हामी एक सच्चा सन्त कहलाउनुको हकदार हुन्छौ । हामीमा कुनै किसिमको अहंकार आउनु हुँदैन । यदि अहंकारले हाम्रो ह्दयमा ठाउँ लिएको खण्डमा हामी भक्ति गर्न सक्दैनौ र यो ज्ञान लिएको पनि कुनै सार्थक हुँदैन । हामीले सधै अनुशासनको पालना गर्दै गुरु–मर्यादामा बस्न सिक्नु पर्छ । यस कुरालाई यहाँका प्रबन्धकहरुले पनि ध्यान दिन जरुरी रहेको बताउनुृभयो ।

जब ज्ञान हाम्रो कर्ममा ढल्न सक्छ भने हाम्रो जीवन श्रृंगार बन्न सक्छ । आनन्दित र भक्तिमय बन्न सक्छ । अहिले हामीमाथि सत्गुरुको अपार दया–कृपा रहेको छ, यसै मानव योनिमा हामीले यस आनन्दलाई प्राप्त गर्न सक्नु पर्छ । ब्रम्हज्ञान लिनुभन्दा पहिले हामी केवल पुस्तक र विभिन्न धर्म ग्रन्थमा मात्र सिमित रहेका थियौं, त्यसको मात्र रट्न गथ्र्यौ, त्यसबाट हाम्रो जीवनको कुनै कल्याण हुन सक्दैन । आज सत्गुरुले हामीलाई साक्षात यस निराकारको दर्शन गराएर हाम्रो जीवनको कल्याण गरिराख्नु भएको छ ।

उहाँले बृद्धा आश्रम बनाउने कार्यको आफू घोरविरोधि भएको उल्लेख गर्दै भन्नुभयो कि आफूलाई विभिन्न संघ–संस्था तथा व्यक्तिहरुले बृद्धा आश्रम बनाउनु परयो भनेर भन्छन् तर म यसको विरोधी हुुँ किनभने आफ्ना वृद्धा आमा–बुवालाई वृद्धा आश्रममा राखेर आफू चाहि सुख–शान्तिसंग घरमा बस्नु, जन्म दिने हाम्रा आमा–बुवाप्रति कुनै प्रेम–सत्कार छैन भने हामी अरुसंग कसरी प्रेम गर्न सक्छौ यो कतिको न्यायोचित तथा धार्मिक हो, यो कुराको सबैले चिन्तन गर्नु आवश्यक छ । यसभन्दा पाठशाला बनाउने कार्य उत्तम र परोपकारी रहेको र आफू विद्यार्थी जीवनकालदेखि नै शिक्षा प्रेमी भएकोले आफ्नो जीवन कालमा अछाममा एउटा र टीकापुरमा दुईटा पाठशालाहरुको निर्माण गरेर आज ती पाठशालाहरुबाट विद्यार्थीहरुले उच्च शिक्षा लिरहेको उल्लेख गर्दै प्रेम, नम्रता, सहनशीलतालाई जोड दिनुपर्ने बताउनुभयो ।

उहाँँले भन्नुभयो कि तन, मन, धन हामीले हाम्रो मानिरहेका छौ त्यसैले हामीलाई अनेकौं दुःख–कष्ट झेल्नु परिरहेको छ । यदि हामीले सच्च ह्दयले यस निराकारले प्रदान गरेको तन, मन, धन हो सम्झेर त्यसैलाई नै अर्पण गर्छौ भने हामी जीवनमा खुशी नै खुशी हुनेछौ । हामी खाली हात आएका थियौं र खाली हात नै यस संसारबाट जानु छ । राजा सिकन्दरले पनि सारा धन–सम्पत्ति यहि छोडेर खाली हात यस संसारबाट जानु परयो उहाँले बताउनुभयो ।

भक्तिमा कुनै हद–उमेर नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयोकि हामी भन्ने गर्छौकि बालबालिकाहरुलाई बाल संगतमा आऊ, महिलाहरुलाई महिला संगमा आऊ, इंगलिस मिडियमको संगत पनि संचालन भएको हुन्छ, त्यसमा पनि आमन्त्रण गरिन्छ कि सत्संगमा आऊ, त्यहाँ आएको खण्डमा बालबालिकाहरुको चौतर्फी विकास भएर एक सच्चा ज्ञानवान, अनुशासित मान्छे बन्ने छन् । भक्त प्रह्लादले सानैदेखि भक्तिको आरम्भ गरे, आफ्नो बुवाबाट अनेकौं यातना खाएर पनि उनले भक्ति मार्गलाई छोडेनन्, त्यसैले आज उनलाई भक्त प्रह्लादको नामले चिनिन्छन् । भक्त हनुमानले पनि प्रभु रामसंग हजूरबाट कहिल्यै आफ्नो विछोड हुनु नपरोस, आफ्नो शरणमा राख्नुहोला भनेर आशीर्वाद माग्दा प्रभु रामले उनको मनोकामना पूरा गर्नुभयो जसको फलस्वरु आज संसारमा उनको मन्दिर निर्माण गरेर पूजा गर्ने गरिन्छ । आज निरंकारी मिशनले पनि वास्तविक कुराको खोजी गरेर यथार्थ ब्रम्हज्ञान प्रदान गरेर त्यसको जानकारी गराई रहेको छ ।

यस्तै प्रकाले खाद्य व्यवस्था तथा व्यापार सुर्खेत, कर्णाली प्रदेशका प्रादेशिक प्रमुख माधव मिश्रले आफूले मानव योनिमा जन्म लिसकेपछि यस संसारमा आएर जे कर्म गर्छौ त्यस्तै प्रकार फल पाईने र मानव योनिमै ईश्वरलाई प्राप्त गर्न सकिने बताउनुभयो । यदि देशमा युवाहरुको बानि–व्यवहोरा, अनुशासित भएको खण्डमा देशले पनि राम्रो नागरिक पाएमा देश पनि राम्रो बन्न सक्छ । हामीले जीवनमा सधैं असल कार्य गर्दै अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभयो ।

उक्त सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्ले, क्षेत्रिय संचालक नरबहादुर बटाला, केन्द्रीय सदस्य दल बहादुर राना, सुर्खेत जिल्लाका सत्संग संयोजक सहबीर थापा, गायक तेज बहादुर बोहरा (टीकापुर), नेपालगन्ज सत्संग भवनका मुखी शिव प्रसाद गुडियार, बीरेन्द्रनगर सत्संग भवनका मुखी लिलाराम पुरी, सन्त निरंकारी नेपाली मासिक तथा मालिका समाचारका सम्पादक पूर्ण कुमाल, दाङबाट आउनु भएका सेवादल जवान दिन बहादुर जी.सि., रोल्पाबाट आउनुभएका बिरबल डाङ्गी, नन्दा, धर्मा, पवित्रा अधिकारी, गुटु सत्संग भवनका मुखी ऋषि सापकोटा, भूपेन्द्र खत्री (दैलेख) आदिले आ–आफ्नो भाव प्रकट गर्नुभएको थियोे भने सत्संगको संचालन सेवादल जवान अमर सुनारले गर्नुभएको थियो । सुर्खेतको बीरेन्द्रनगरमा अवस्थित सत्संग भवनमा स्थानीय सन्त लगाएत सल्यान, दैलेख, दाङ, रोल्पा, प्यूठानबाट सन्तहरुको बाक्लो रुपमा उत्साह वर्धक उपस्थिति रहेको थियो ।

बिज्ञापन