राष्ट्रिय समाचार

नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक प्रस्ताव स्वीकृत

बिज्ञापन

काठमाडौं । प्रतिनिधिसभाबाट नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए । 

बिज्ञापन

त्यसअघि, विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको छलफलका क्रममा सांसदहरूले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैरनेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुनेमा जोड दिएका थिए । 

सांसदहरूले नागरिकता विधेयक पारित भएपछि लामो समयदेखि नागरिकता प्राप्त गर्न नसकेका सन्ततिले नागरिकता प्राप्त गर्ने भन्दै नागरिकता सरल ढंगबाट प्राप्त गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए । 

सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमा केही समस्या देखिए परिमार्जन गर्न सकिने बताए । उनले कुनै पनि नेपाली नागरिकहरू नागरिकताविहीन हुन नपरोस् भन्ने उद्देश्यका साथ नै सरकारले नागरिकता विधेयक ल्याएको धारणा राखे ।

सदनमा प्रस्तुत गरेको नयाँ विधेयकले अहिले देखिएको नागरिकता समस्यालाई मूलरूपमा सम्बोधन गर्ने र आमाबाबु नेपाली नागरिक हुँदाहुँदै पनि नागरिकता नपाएर सरकारबाट पाउने सेवा सुविधा लिन वञ्चित भएका लाखौँ युवाले नागरिकता पाउने सरकारले जनाएको छ । 

बिज्ञापन