राष्ट्रिय समाचार

सर्वोच्चको आदेशपछि विश्वराज पोखरेलका दुई विकल्प : राजीनामा कि हाजिर हुने ?

बिज्ञापन

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिमा अन्याय भएको भन्दै सर्वोच्च अदालत पुगेका एआईजी विश्वराज पोखरेलको रिट खारेज भएसँगै उनीसँग अब दुई विकल्पमात्रै रहेको देखिएको छ ।

बिज्ञापन

सरकारले धीरजप्रताप सिंहलाई प्रहरी प्रमुख बनाएपछि त्यसमा असन्तुष्टि जनाउँदै उनी सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले शुक्रबार उनको रिट खारेज गरिदिएपछि उनीसँग अब दुईवटामात्रै विकल्प देखिएका छन् । सिंहलाई प्रहरी प्रमुख बनाएपछि उनी बिदामा बसेका थिए ।

त्यसयता उनी निरन्तर बिदामा छन् । उनी निकट स्रोतले दिएको जानकारीअनुसार पोखरेल राजीनामा दिने ‘मुड’ मा छन् ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले उनले दायर गरेको रिट खारेज गरेको हो ।

यसअघि संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भएको थियो । पाँचौंपटकमा रिट खारेज भएको हो ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

पोखरेल एआईजीमा सिंहभन्दा १६ महिना सिनयर एआईजी थिए । सिंह एआईजी बनेको एक महिना नबित्दै आईजीपी नियुक्त भएका थिए ।

प्रहरीमा हाल ३० वर्षे सेवा अवधि कायम छ । प्रहरीमा अहिलेकै व्यवस्थाअनुसार एआईजीको उमेर हद ५६ वर्ष छ ।

आईजीपीको उमेर हद ५८ वर्ष छ । पोखरेल आउँदो साउन २० गते ५७ वर्ष लाग्छन् । साउन २० अघि मुद्दाको किनारा नलागे उनले स्वतः एआईजीबाटै अवकाश पाउने निश्चित थियो । त्यसैले उनले साउन २० अघि नै आफ्नो मुद्दाको किनारा लागोस् भन्ने चाहन्थे ।

तर उनको पक्षमा अदालतको आदेश आएन । यस्तो अवस्थामा उनले राजीनामाको मुड बनाएको स्रोत बताउँछ । यसअघि नै उनले आफुभन्दा जुनियरको मातहतमा बस्नुपर्ने संगठनबाट बाहिरिनसक्ने बताउँदै आएका थिए ।

सिंह र पोखरेल एकै ब्याची भए पनि एसएसपीबाट एआईजीसम्म पोखरेल नै सिनयर थिए । सिंहलाई आईजीपी बनाउने निर्णयको कांग्रेसकै पदाधिकारीहरुले विरोध गरेका थिए ।

अहिले नै संगठनमा रहने वा नरहने भन्नेबारे कुनै निर्णय नलिइसकेको एआईजी पोखरेलले बताए ।

बिज्ञापन