अर्थ

भदौसम्म टीभी, तासदेखि महंगा मोबाइल ल्याउन नपाइने

बिज्ञापन

काठमाडौं । सरकारले ‘विलासी वस्तु’ प्रतिबन्धको अवस्था भदौ १४ गतेसम्म कायमै राख्ने भएको छ । विभिन्न वस्तुहरुको आयातमा प्रतिबन्ध लगाउने यसअघिको निर्णयलाई निरन्तरता दिँदै भदौ १४ सम्म कायमै राखिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

नेपाल राजपत्रमा एक सूचना प्रकाशित गर्दै मन्त्रालयले भनेको छ, “नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड (ञ) को उद्देश्य प्राप्त गर्न संवत् २०७९ साल साउन १ गतेदेखि संवत् २०७९ भदौ १४ गतेसम्मको लागि देहायका वस्तुको पैठारीमा पूर्ण बन्देज लगाएकोले यो सूचना प्रकाशन गरिएको छ ।”

जसमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक), चुरोट तथा सूर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक), हिरा (कच्चापदार्थ बाहेक), स्मार्ट फोनहरु रहेका छन् । स्मार्ट फोनमा ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल आयात गर्न बन्देज लगाइएको छ ।

त्यस्तैगरी रंगीन टीभी (३२ इञ्चमाथिका सबै), जीप, कार र भ्यान, मोटरसाइकलमा पनि १५० सीसीमाथिका सबै प्रकारका मोटरसाइकल आयातमा रोक लगाइएको छ ।

त्यसैगरी सबै प्रकारका खेलौना र तास आयातमा प्रतिबन्ध लगाइएको छ ।

सूचनाअनुसार आजभन्दा अघि नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेका २५० सीसीसम्मका मोटरसाइकल र ६ सय अमेरिकी डलरसम्मका मोबाइल भने ल्याउन पाइने उल्लेख छ ।

बिज्ञापन