राजनीति

पोखराका धनाढ्य मेयरः ५४ तोला सुन, २५ करोडको सेयर

बिज्ञापन

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार उनी झण्डै ४४ करोडको सम्पत्तिका मालिक हुन् ।

बिज्ञापन

महानगरको वेवसाइटमा राखिएको विवरणमा मेयर आचार्यसँग पोखरामा २ वटा र काठमाडौंमा एउटा घर रहेको उल्लेख छ । पोखराको वडा नम्बर ९ मा २८९ स्क्वायर मिटर जग्गा र त्यसमा बेनेका दुईवटा घर छन् । आचार्यकी पत्नी पुष्पाकुमारी पौडेलको नाममा रहेको उक्त घर–जग्गाको मूल्य ९ करोड २५ लाख रहेको जनाइएको छ ।

यस्तै काठमाडौंको सीतापाइलामा मेयर आचार्यको अर्को घर छ । ९२५.६० स्क्वायर मिटरमा फैलिएको यो घर पनि आचार्यले श्रीमतीकै नाममा राखेका छन् । घरको मूल्य एक करोड ८५ लाख रुपैयाँ उल्लेखित छ । उनको तेस्रो घर पोखरा–११ मा रहेको छ । मेयर आचार्यको आफ्नै नाममा रहेको घर अनुमानित ३ करोड ८५ लाख रुपैयाँको हो ।

मेयर आचार्यसँग दोलखाको हेवा गाउँपालिकामा ८ टुक्रा जग्गा छन्, जसको मूल्य ८७ लाख रुपैयाँ पर्ने उनले उल्लेख गरेका छन् । यस्तै उनीसँग चारवटा गाडी र एक स्कुटर छन् । गाडी र स्कुटरको कुल मूल्य २ करोड रुपैयाँ उनले खुलाएका छन् ।

सम्पत्ति विवरणमा मेयर आचार्यसँग बैंकमा १५ लाख रुपैयाँ नगद रहेको उल्लेख छ । यस्तै, उनले विभिन्न कम्पनीका २५ करोड रुपैयाँको सेयर खरिद गरेका छन् ।

कुल मिलाएर मेयर आचार्यले आफ्नो सम्पत्ति ४३ करोड ६१ लाख ४५ हजार ६१६ रुपैयाँ बराबरको सम्पत्ति रहेको उल्लेख गरेका छन् । आचार्यले विभिन्न बैंक, फाइनान्स कम्पनी तथा साथीभाइ/आफन्तबाट २ करोड ८५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् ।

उनले राखेको यो सम्पत्ति विवरणमा पुख्र्यौली सम्पत्ति समावेश गरिएको छैन । साथै ५४ तोला सुन, ३८ ताला चाँदी र ५ तोला हिरा पनि उनले तपसिलमा देखाएका छन् ।

को हुन् आचार्य ?

५३ वर्षिय आचार्य हालै भएको स्थानीय चुनावमा नेकपा एकीकृत समाजवादीबाट मेयरमा निर्वाचित भएका हुन् ।

सत्तारुढ गठवन्धनको समर्थनमा उनले एमालेका कृष्ण थापालाई ६ हजार ४५ भोटले हराएका थिए । उनले आफ्नो पेशामा उद्योग व्यवसाय, समाजसेवा र राजनीति उल्लेख गरेका छन् ।

आचार्यले २०३९ सालमा अनेरास्ववियूको सदस्यता लिएर राजनीतिक जीवन प्रारम्भ गरेका थिए । उनी नेकपा एसका केन्द्रीय सदस्य र कास्की जिल्ला कमिटी अध्यक्ष हुन् ।

बिज्ञापन