राजनीति

सामाजिक सुरक्षालाई राजनीतिक अस्त्र नबनाउँ, १५ प्रतिशत नाघे धान्न सक्दैनौं : युवराज खतिवडा

बिज्ञापन

काठमाडौं । प्रख्यात अर्थशास्त्री तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अन्धाधुन्द सामाजिक सुरक्षाको वृद्धिले अर्थव्यवस्था अप्ठेरोमा पर्न सक्ने चेतावनी दिएका छन् । उनले सामाजिक सुरक्षालाई राजनीतिक अस्त्र नबनाउन अपिल गरे ।

बिज्ञापन

नेकपा एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा बोल्दै खतिवडाले सिद्धान्त सामाजिक सुरक्षामा कुल बजेटको १५ प्रतिशतभन्दा बढी खर्च गर्न नहुने बताए ।

उनले भने, ‘अहिले हाम्रो सामाजिक सुरक्षा बजेट १३ प्रतिशत पुगिसकेको छ । यो १५ प्रतिशतभन्दा माथि गयो भने हामी धान्न सक्दैनौं ।’ डा. खतिवडाले स्रोतविना सामाजिक सुरक्षा बढाउने प्रतिस्पर्धाले कतिपय देशहरुको अर्थतन्त्रमा समस्या आएको उल्लेख गरे ।

उनले थपे, ‘नेपालमा पनि यही प्रवृत्ति देखिएको छ । एउटा सरकार आउँछ, उमेर घटाउँछ, अर्को सरकार आउँछ, रकम बढाउँछ । यही तरिकाले अगाडि बढ्ने हो भने एउटा बिन्दुमा पुगेपछि अप्ठेरोमा पर्न सक्छौं । त्यसैले सामाजिक सुरक्षालाई राजनीतिक अस्त्र बनाउनु हुँदैन । सस्तो लोकप्रियताको औजार बनाउनु हुँदैन ।’

डा. खतिवडाले बजेटबाट धेरै क्षेत्रमा कर छुट र अनुदान दिने प्रवृत्तिमा पनि प्रश्न उठाए । सरकारले जथाभावी छुट र अनुदान दिँदा अर्थतन्त्रमा अराजकता निम्तिने उनको भनाइ छ ।

‘यसले स्रोतको दुरुपयोग हुने तथा कसैलाई काखा र कसैलाई पाखा हुने अवस्था आउँछ । त्यसैले कर र अनुदानका सबै व्यवस्था पुनरावलोकन गर्नुपर्छ,’ उनले भने ।

बिज्ञापन