घटना

भारत बेच्न लगिएका बाजुराका १९ जना महिलाको नाकाबाट उद्धार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा । भारत लैजान लागिएको अवस्थामा बाजुराका १९ जना महिलाहरूको कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको छ । बाजुराको नौ वटै स्थानीय तहका अधिकांश महिलाहरू घरको आर्थिक स्थिति निकै कम्जोर भएकाले कामको खोजीमा प्रत्येक वर्षमा भारत जाने गर्दछन् ।

बाजुराका १९ जना महिलालाई भारतमा राम्रो काम लगाइदिने प्रलोभन पार्दै दलालहरूले बिक्री गर्ने उद्देश्यले भारत लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको शान्ति पुनर्स्थापना गृह कैलाली र गड्डाचौकीले जनाएको छ ।

बिज्ञापन

शान्ति पुनर्स्थापना गृह शाखा कञ्चनपुर गड्डाचौकीका कर्याक्रम सयोजक सञ्चित सिंहले २०७८ असार देखि २०७९ साउनसम्म बाजुराका महिलालाई त्रिनगर र गड्डाचौकी सिमानाकाबाट भारततर्फ लगिरहेको अवस्थामा बाजुराका १९ जना महिलालाई उद्धार गरिएको बताए ।

उनले भने, ‘‘बाजुराका १९ जना महिलालाई ललाई फकाइ गरेर भारतमा लैजाँदै लागेको अवस्थामा शान्ति पुनर्स्थापना गृहले उद्धार गरेको हो ।’’

शान्ति पुनर्स्थापना गृहका अनुसार २०७८ सालको असार देखि २०७९ सालको साउन सम्म कैलालीको त्रिनगर नाकाबाट ७ र कञ्चनपुर गड्डाचौकी नाकाबाट १२ जना गरी १९ जना बाजुराका महिलाहरूको उद्धार गरिएको जनाएको छ ।

उद्धार गरिएका महिलामा घरको आर्थिक स्थिति निकै कमजोर र एकल महिला रहेको शान्ति पुनर्स्थापना गृहले जनाएको छ । बाजुराका नौवटै पालिकाका स्थानीय कामको खोजीका लागि बर्सेनि भारतमा जाने गर्दछन् ।

त्यहाँका स्थानीयले हिउँदको चैत खेती र वर्खाको असार खेती लगाएर भारतमा जाने क्रम बाजुरामा पहिले देखि अहिले सम्म उस्तै छ । घरमा खान छोरा छोरीलाई स्कुलमा पठनपाठन गर्नकै लागि उनीहरू प्राय भारतमा जाने गरेको स्थानीय बताउँछन् ।

बाजुराको बूढीगंगा नगरपालिका वडा नं –१० की नाम परिवर्तन (निर्मला नेपाली) ले गाउँमा राम्रो जग्गा जमिन नभएको र घरमा कसैको जागिर नभएकाले दैनिक गुजारा टार्न र छोरा छोरीलाई स्कुलमा पढाउन घरमा बालबालिका छोडेर पनि भारतमा जान बाध्य भएको बताइन् ।

उनले भनिन्, ‘‘रोजगारी लगाइ दिने प्रलोभनमा बाजुराका दर्जनाैं महिला भारततमा बेचिन बाध्य भएका छन् । कयौं महिला बलात्कारको सिकार भएका छन् । रहरले नभई छोराछोरी पाल्ने र आफू पनि नोकरी गर्ने उद्देश्यले भारतको कोठी–कोठीमा काम गरिरहेका अधिकाशं महिलाहरू बलात्कृत भएका छन् ।’’

कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएका ७ जनामा बाजुराको बडिमालिका नगरपालिका वडा नं. १ का दुई जना त्रिवेणी नगरपालिका वडा नं ३ का एक जना खप्तड छेडेदह गाउँपालिका ५ र ७ का दुइ जना बूढीगंगा नगरपाकिला वडा नं. ८ र ४ का दुई जना गरी सात जनाको कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कैलालीले जनाएको छ ।

शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कैलालीका प्रमुख निर्मला सिहले आर्थिक कमजोर अवस्था तथा एकल महिलालाई भारतमा नौकरी लगाइदिने लोभ देखाएर भारतमा लैजाँदै गरेको क्रममा उद्धार गरेको बताए ।

यसैगरी बडिमालिका नगरपालिका वडा नं. १ र ६ को दुई जना, स्वामीकार्ति खापर गाउँपालिका वडा नं. १ का दुई जना, खप्तड छेडेदह वडा नं. ६ का दुई जना, त्रिवेणी नगरपालिका वडा नं. ५ को एक जना, बूढीगंगा नगरपालिका वडा नं. ३, ७ र ९ का पाँच जना गरी १२ जनाको उद्धार गरिएको शान्ति पुनर्स्थापना गृह गड्डाचौकीले जनाएको छ । शान्ति पुनर्स्थापना गृह गड्डाचौकी प्रमुख सञ्जित सिंहले उद्धार गरिएका महिलालाई प्रहरीको रोहवरमा अहिले उनीहरूको आफन्तको जिम्मा लगाएको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।