राष्ट्रिय समाचार

५० हजार ऋणमा १२ लाखको तमसुक बनाई गाउँ नै सुकुम्बासी बनाएका सुदखोर अनिरुद साह पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिकाका नामुद मिटरब्याजी अनिरुद शाह पक्राउ परेका छन् । ५० हजार ऋण दिएर १२ लाखसम्मको तमसुक बनाएका शाह भदौ ३ गते साँझ भंगहा नगरपालिकाबाट पक्राउ परेको महोत्तरी जिल्लाका एसपी कृष्ण पंगेनीले बताए ।

पंगेनीका अनुसार अनिरुदविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्जनौं उजुरी परेका छन् । कसैले जाहेरी हालेका छन् भने कसैले निवेदन हालेका छन् । पंगेनीले भने, ‘अब उनीविरुद्ध ठगी मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारीमा छौं ।’

बिज्ञापन

मिटरब्याज पीडित मोहन महतोका अनुसार अनिरुदबाट जिल्लाभरिमा करिब दुई सयभन्दा बढी पीडित छन् । १२ वर्षअघि दुई लाख रुपैयाँ लिएका मोहन स्वयंले ६ लाख ३० हजार बुझाउँदा पनि आफ्नो पाँच कठ्ठा जमिनको लालपुर्जा फिर्ता पाएका छैनन् ।

महतोसँगै पीडितहरु संजीलादेवी, राजनारायण यादव, जगन्नाथप्रसाद सिंह, वासिरा खातुन, समधुदेवी दोनुवार्नी, रीनाकुमारी, योगेन्द्रप्रसाद चौधरी, धनेश्वर महतो, वीरेन्द्र यादव, प्रकाश मण्डल, मालतीदेवी धानुक, वीरेन्द्र सदा मुसहर, शिवा सदा, गंगा साह ललवारलगायतले केही महिना पहिले अनिरुदविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आफूविरुद्ध प्रहरीमा उजुरी परेपछि भागेका अनिरुद भदौ ३ गते भंगहामा मिटरब्याजको पैसा उठाउँदै गर्दा पक्राउ परेको पीडित महतोले बताए ।

उनले भने, ‘सुदखोर पक्राउ परेपछि न्याय पाइन्छ कि भन्ने आश छ । तर, हाम्रो जग्गाको लालपुर्जा फिर्ता पाइएला भन्ने कुरामा अझै पनि शंका छ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।