राजनीति

ओलीको आरोप- भारत रिसाउँछ भनेर गठबन्धनवाला लिम्पियाधुरा नेपालको हो भन्न डराए

बिज्ञापन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो भन्न समेत डराएको टिप्पणी गरेका छन् । भारत रिसाउँछ भनेर गठबन्धन दलका नेताहरु आफ्नो भूमि नेपालको हो भन्न डराइरहेको ओलीको दाबी छ ।

बिज्ञापन

पूर्वमन्त्री दानबहादुर चौधरी, माओवादी केन्द्रीय सदस्य तथा चौताराका पूर्वमेयर अमानसिंह तामाङसहितलाई एमाले प्रवेश गराउँदै अध्यक्ष ओलीले गुमेको भूभाग समेटेर नक्सा छाप्दा भारत आफूसँग रिसाएको बताए । उनले नेपालले आफ्नो भूमि दाबी गर्दा रिसाउन आवश्यक नरहेको बताए ।

ओलीले भने- सुगौली सन्धीले कायम गरेको हाम्रो भूभाग ६० वर्षअघि भारतलाई प्रयोग गर्न दिइएछ । यसबीचमा कसैले बोलेनन्, मैले त्यो भूभाग समेटेर हाम्रो नक्सा बनाएपछि भारत रिसायो भनेर अहिलेका गठबन्धनवालाहरु म्याउँ म्याउँ गरिरहेका छन् ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा नक्सामा समेटिएको जग्गा नेपालको हो भनेर बोल्न नसकेको भन्दै ओलीले प्रचण्डको भारत भ्रमणमा समेत एक शब्द बोल्न नसकेको बताए । उनले माधव नेपाललाई देउवा र प्रचण्डलाई भारतले बोलाएर आफूलाई नबोलाएकोमा चिन्ता बाहेक मुलुकको भूमि फिर्ता ल्याउँ भन्ने चाहना नरहेको आरोप लगाए ।

ओलीले भने- शेरवहादुरजीलाई म सोध्न चाहान्छु तपाईकै प्रदेशको, तपाईकै जिल्लासँग जोडिएको दार्चुलाको नक्सामा हामीले समेटेको लिम्पियाधुरा, लिपुलेक र कालापानी कसको हो ? बोल्ने हिम्मत छ ? आफूलाई क्रान्तिकारी भन्ने प्रचण्डलाई बोल्ने हिम्मत छ ?
अध्यक्ष ओलीले गठबन्धनको बलमा नीतिगत भ्रष्टाचार गरेर देश सिध्याउन खेल भएको आरोप समेत लगाए ।

बिज्ञापन