राष्ट्रिय समाचार

कैलालीको लम्की-बल्चौर बादी बस्तीमा १३० भूमिहिन दलित परिवारलाई लालपूर्जा वितरण

बिज्ञापन

टीकापुर । कैलालीको लम्की-बल्चौर बादी बस्तीमा १३० भूमिहिन दलित परिवारलाई लालपूर्जा वितरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोगमार्फत कृषि उत्पादन र उत्पादकत्व बढाउन सरकारले काम शुरू गरिसकेको बताएकी छन् । आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम शुरु गरेको उनले बताइन् । 

बिज्ञापन

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ को बादी बस्तीमा १३० भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नदी उकासदेखि बाँझो जमिनहरुको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना रहेको जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र भूमिहिन दलित, भूमिहिन सुकुम्वासीको हक अधिकार स्थापित गर्र्न भूमिहिनलाई भूमि वितरणको काम गरिरहेको बताइन् । उनले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदन अनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुर्नस्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको पनि बताइन् । 

नागरिकलाई रोजगारीको सिर्जना गर्न योजना बनाइसकेकोे र रोजगारी खोज्न बाहिर हिँड्नु नपर्ने गरी काम गर्न सरकार प्रतिबद्ध भएर लागेको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले भूमिहीनलाई लालपूर्जा वितरणको काम अभियानको रूपमा अगाडि बढाइएको र हालसम्म गाउँब्लकमा ५० हजार भन्दाबढी भूमिहीनलाई लालपूर्जा वितरण गरेर कानुनी रूपमा जग्गाको मालिक बनाइएको बताइन् । 

मन्त्री श्रेष्ठले यही वर्षभित्र ३०० पालिकाका पाँच लाख भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने उनले जानकारी दिइन् ।  दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालयले सबै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटाउँने काम गरिरहेको उनले बताइन् । 

बिज्ञापन