राजनीति

युनिसेफको जागिर छोडेर कार्कीले गरे स्वतन्त्र उम्मेदवार घोषणा

बिज्ञापन

काठमाडौँ–  युनिसेफको जागिर छोडेर नरबहादुर कार्कीले जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । अफ्रिकी मुलुक सियरालियोनको डेढ वर्ष लामो परामर्श विज्ञको जागिरलाई छोड्दै उनी नेपाल आएका हुन् ।

बिज्ञापन

सोमबार जाजरकोट सदरमुकाम खंलगामा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उम्मेदवारी रहेको जानकारी दिए ।

जनस्वास्थ्य विज्ञसमेत रहेका उनी सकारात्मक सोच र जीवन रुपान्तरणमा अन्तर्राष्ट्रिय रूपमा चिनिएका प्रशिक्षक हुन् ।

युनिसेफको जागिर छोडेर राजनीतिमा किन लाग्नु भयो भन्ने प्रश्नमा कार्कीले भने, ‘देशको स्वाधिनता, भविष्य र देशको समग्र भाग्य र भविष्यको दिशा निर्देश गर्ने काममा जिल्लाको प्रतिनिधित्व गर्न पाउनु आर्थिक र सामाजिक पहिचान भन्दा ठूलो पहिचान हो भन्ने मलाई लागेको छ।

जाजरकोटका जनताले पनि विकल्प खोजेका कारण मैले जन भावनलाई कदर गर्नु पर्छ भन्ने लाग्यो र राजनीतिमा आएँ।’

छेडागाड नगरपालिका–१२ को कार्कीगाउँमा जन्मिएर कार्कीगाउँमै हुर्की, पढेर अहिले जाजरकोट जिल्लालाई विश्व सामु चिनाउन पाएकोमा आफुलाई गर्वानुभू्ति हुने गरेको बताउँछन् ।

जिल्लाको सामाजिक तथा साँस्कृतिक रुपान्तरण र पूर्वाधार विकासमा योगदान गर्न जाजरकोट जिल्लाबाट जनअनुमोदित हुने चाहाना रहेको उनको भनाइ छ ।

जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्ति वस्नेत अहिले प्रतिनिधिसभा सदस्य छन् । जाजरकोटबाट प्रतिनिधित्व गरेर मन्त्री बनेका एकमात्र नेता भएका कारण कार्कीलाई चुनौति छ। अर्को चुनौति भनेको राजिवविक्रम शाह पनि हुन सक्छन् ।

उनी नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा बस्नेतसँग हारेका व्यक्ति हुन् भने नेकपा एमालेका निरज आचार्य पनि जाजरकोटबाट नै प्रतिनिधिसभाको निर्वाचन लड्ने अपेक्षामा छन् ।

बिज्ञापन