प्रहरीमा गृह मन्त्रालयको छड्के

काठमाडौं । सुरक्षा निकायमा विकृति बढेको गुनासोपछि गृह मन्त्रालयले छड्के थालेको छ । हालै तीन जिल्लामा गृह मन्त्रालयले छड्के गर्दा धेरै विकृति भेटिएका छन् ।
सहसचिव डा भीष्मराज भुसाल नेतृत्वको टोलीले पूर्वको झापा, मोरङ र सुनसरीमा आकस्मिक निरीक्षण गरेको हो ।

जहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिडिओहरुको समेत कतिपय गतिविधि गैरव्यावसायिक भएको पाइएको स्रोत बताउँछ । समितिले केही दिनमै गृहसचिव विनोदप्रकाश सिंहलाई बुझाउने तयारी गरेको छ । जस आधारमा केही प्रहरी कारबाहीमा पर्ने सम्भावना रहेको बताइन्छ ।
चुनावको मुखमा पूर्वमा सुपारीलगायत सामानको तस्करी बढेको छ । प्रहरीकै मिलेमतोमा यस्तो तस्करी बढेको स्रोत बताउँछ । तस्करीमा कुरा नमिलेपछि भारततर्फबाट केही ट्रक सुपारी दुई महिनाअघि बरामद गरिएको थियो । जसलाई सेटिङ मिलाएर हालै छाडिएको छ । यसमा डिआइजी सुदीप गिरी प्रयोग भएका थिए । उनै गिरीले प्रहरी दिवसमा प्रहरी ब्याटन पुरस्कार पाएका छन् ।
प्रदेश नं १ का सशस्त्र प्रहरीका डिआइजी कमल गिरीले पनि राम्रो काम गरेका छैनन् । एक वर्ष अवधि पुगेपछि पनि उनी सोही ठाउँमा बस्न सफल भएका छन् । त्यही बसेपछि मातहतबाट मासिक पैसा नै उठाउने गरेको उजुरी परेको थियो । गृहको छड्के टोलीको सिफारिस कार्यान्वायन भएमा केही प्रहरी कारबाहीमा पर्ने बताइएको छ ।
उता छड्के टोलीमा जानका लागि डिआइजी भीम ढकालले गरेको चलखेलको विषय प्रहरी प्रधान कार्यालयमा चर्चाको विषय बनेको छ । सो टोलीमा आफूलाई राखिदिनका लागि भनेर उनले गृह मन्त्रालयबाटै आफ्नो नाम किटेर पत्र लेख्न लगाएका थिए । जबकि गृहले सामान्यतया प्रतिनिधि पठाइदिन भनेर पत्र लेख्ने गर्दछ । तर, ढकालले भने प्रहरीको चेन अफ कमाण्डविपरीत आफ्नो नाममा पत्र लेख्न लगाएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
