राजनीति

घाेषणापत्रमा कांग्रेसकाे दलित मुद्दा: समावेशी लोकतन्त्रका पाँच ‘प’ अंगीकार गर्ने

बिज्ञापन

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले दलित समुदायबाट एक जना पनि उम्मेदवार उठाएन । तर, कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा भने दलित समुदायलाई ‘सामाजिक रुपान्तरणको उत्प्रेरक’ उल्लेख गरेको छ ।

बिज्ञापन

प्रमुख दलहरुमध्ये कांग्रेसले सबैभन्दा पहिले चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो । घोषणापत्रको बुँदा नम्बर २.३ मा दलित समुदायलाई ‘सामाजिक रुपान्तरणको उत्प्रेरक’ उल्लेख गरिएको हो ।

घोषणापत्रमा कांग्रेसले दलित समुदाय सम्बन्धमा मीठा र गहकिला शब्दले एउटा शीर्षकमा दुई पन्ना बयान गरेको छ । घोषणापत्रमा लेखिएको छ, ‘नेपाली कांग्रेस स्थापनाकालदेखि राजनीतिक र आर्थिक परिवर्तनमात्र नभएर सामाजिक तथा सांस्कृतिक रुपान्तरणको पनि प्रमुख संवाहक शक्ति हो । अन्धविश्वास, रुढीवादिता, छुवाछूत र भेदभावरहित समतामूलक समाज निर्माण गर्न राष्ट्रिय अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको पार्टी हो । दलितप्रति हुने अमानवीय विभेद र छुवाछूतको अन्त्य, महिलाविरुद्ध हुने हिंसा र विभेदका व्यवहार, गरिब र असहायप्रतिको अपहेलना, जातजाति र सम्पत्तिका आधारमा सृजित सामाजिक असमानताको अन्त्यका लागि नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालदेखि नै हुँदै आएका आन्दोलन ऐतिहासिक प्रमाणका रुपमा रहेका छन् । तर, राजनीतिक, संवैधानिक तथा कानूनी दृष्टिकोणले जतिसुकै सुधार गरे पनि व्यवहारमा सामाजिक विभेद तथा विकृति-विसंगति आज पनि जटिल रहेको देखिन्छ । त्यसैले विद्यमान सबै प्रकृतिका विभेदको समूल अन्त्य गर्न नेपाली कांग्रेस कृतसङ्कल्पित छ ।’

कांग्रेसले समुदाय लक्षित संवैधानिक आयोग गठनको जससमेत लिएको छ । जसबारे घोषणापत्रमै उल्लेख गरिएको छ । घोषणापत्रमा भनिएको छ, ‘समावेशीकरणको मुद्दालाई सम्बोधन गर्न शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेसको सरकारले पहिलो पटक राष्ट्रिय महिला आयोग, दलित आयोग तथा आदिवासी-जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको स्थापना भएको थियो । त्यस्तै उहाँको नेतृत्वमा सरकारले एकल महिला भत्ता दिने पहिलो पटक सुरुवात गरेको हो । नेपाली कांग्रेसकै नेतृत्वमा राष्ट्रिय प्रसारण माध्यमबाट नेपालीबाहेक अन्य स्थानीय भाषाका समाचार र अन्य सूचनामूलक सामग्रीको प्रसारण प्रारम्भ भएको थियो ।’

कांग्रेसले सिमान्तकृत समुदायलाई निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गर्नेदेखि साक्षरतादर ९२ प्रतिशत पुर्‍याउने कार्य पनि आफ्नै पार्टीको नेतृत्वमा भएको उल्लेख गरेको छ । ‘माध्यमिक शिक्षा निःशुल्क गराउने कार्यक्रम, मधेसी, दलित, मुस्लिम, चेपाङ, हलिया, कमैया, कमलरीलाई निःशुल्क प्राविधिक शिक्षाको व्यवस्थाका साथै छात्रालाई विद्यालय पठाउने प्रोत्साहनका कार्यक्रमलगायतले १५ देखि २४ उमेर समूहमा साक्षरता ९२ प्रतिशत पुगेको छ । शिक्षाका हरेक तहमा छात्रछात्राको भर्ना अनुपात समान भएको छ ।’

समावेशी सिद्धान्त पालना गर्ने प्रतिबद्धता

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा एउटा पनि दलित समुदायको व्यक्तिलाई आफ्नो पार्टीको तर्फबाट मन्त्री नबनाएको कांग्रेसले घोषणापत्रमा राज्यका विभिन्न तह र निकायमा समावेशी सिद्धान्त पालना गर्न प्रतिबद्ध भएको उल्लेख गरेको छ । ‘नेपालको संविधानको भावना र मर्मअनुसार महिला, दलित, आदिवासी-जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक समुदाय र दुर्गम क्षेत्रका जनताको राज्यका विभिन्न तह र निकायमा न्यायोजित प्रतिनिधित्व गराई समावेशिताको सिद्धान्त पालना गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ’, घोषणापत्रमा उल्लेख छ ।

काग्रेसले समावेशी लोकतन्त्रका पाँच ‘प’ मा आधारित मान्यता अंगीकार गर्ने प्रतिबद्धता घोषणापत्रमार्फत गरेको छ । घोषणापत्रमा भनिएको छ, ‘संविधानको जगमा लोकतन्त्रलाई समावेशी बनाउँदै शासनमा सबैको साझेदारी, स्वामित्व र अपनत्व स्थापित गर्ने तथा समाजमा सहअस्तित्वको भावलाई बलियो बनाउँदै समुन्नतिको मार्ग नै नेपाली कांग्रेसको अबको राजनीतिक कार्यदिशा हुनेछ । नेपाली कांग्रेस संविधानमा लिपिबद्ध अधिकारको रक्षा गर्दै सबै नेपालीको पहिचान, पहुँच र प्रतिनिधित्वको सुनिश्चितता गर्दै सबैको प्रगति र प्रतिष्ठासहितको जीवनयापन गर्न पाउने वातावरण निर्माणका लागि समावेशी लोकतन्त्रका पाँच ‘प’ मा आधारित मान्यता अंगीकार गर्दछ ।’
पाँच ‘प’ लाई कांग्रेसले घोषणापत्रमा यसरी व्याख्या गरेको छ-

१. पहिचान

बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशिष्ट अवस्था नेपालको मौलिक पहिचान हो । पहिचानलाई निषेध गरेर होइन, सहअस्तित्व र सबैको सम्मानबाट नै साझा नेपाली पहिचान स्थापित र विकसित हुनसक्छ । नेपाली कांग्रेसले विविधताभित्रको एकता आम नेपालीको सच्चा राष्ट्रियता भन्ने मान्यताका साथ सबैको पहिचानको सम्बोधन, संरक्षण र सम्मान गर्नेछ ।

२. प्रतिनिधित्व

नेपाली कांग्रेसले नेपालभित्र रहेका सबै तहमा समानुपातिक र समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्ने उद्देश्यले संविधान, कानून र राज्य संरचना त्यसैअनुरूप विकास गर्दै जानेछ ।

३. पहुँच

नेपाली कांग्रेस राज्यका सबै तह, निकाय र क्षेत्रमा जाति, भाषा, लिङ्ग, वर्ग, क्षेत्र, समुदाय र समूहको समान ढङ्गले पहुँच सुनिश्चित गर्न प्रतिबद्ध छ । कानूनको समान संरक्षण, व्यक्तिको स्वतन्त्रताको समान उपयोगसँगै बञ्चितीकरणमा परेका समुदायहरूलाई सामाजिक न्यायको सुनिश्चितताका लागि राज्यद्वारा विशेष व्यवस्था गर्नेछ ।

४. प्रतिष्ठा

प्रत्येक व्यक्ति आफ्नो भाषाको प्रयोग गर्न, आफ्नो समुदायको साँस्कृतिक जीवनमा सहभागी हुन, आफ्नो संस्कृति र साँस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्न, आफ्नो धार्मिक परम्पराअनुसार आस्था प्रकट गर्न तथा आफ्नो रोजाइअनुसारको पेशा व्यवसाय गर्न स्वतन्त्र रहेको अवस्थामा नै हरेक व्यक्तिको प्रतिष्ठाको सम्मान गर्न कटिबद्ध छ ।

५. प्रगति

व्यक्तिको कुनै पनि अवस्थामा स्वतन्त्रता कुण्ठित नहुने, आफूले चाहेको पेशा व्यवसाय निर्वाध रूपमा गर्न पाउने तथा मर्यादित जीवनका लागि आर्थिक समृद्धिका न्यूनतम आधारहरूको सुनिश्चितता भएको अवस्थामा मात्रै व्यक्तिको प्रगति सम्भव हुने भएकाले नेपाली कांग्रेस व्यक्तिमा अन्तर्निहित क्षमतालाई पहिचान गरी राज्यले प्रवर्द्धन, विकास र उपयोग गर्ने वातावरण सृजना गर्न प्रतिबद्ध छ ।

बिज्ञापन