राजनीति

एमालेको घोषणपत्रमा के छ ? 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले परम्परागतभन्दा फरक तरिकाले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

याक एन्ड यती होटलमा आयोजित भव्य कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रको डिजिटल अनावरण गरे । २० हजार शब्दको घोषणापत्रमा एमालेले विगतमा आफ्नो पार्टीका सरकारले हासिल गरेका उपलब्धिको चर्चा गरेको छ भने आफ्नो नेतृत्वमा आगामी सरकार बनेमा गर्ने २० वटा कामका ग्यारेन्टी प्रस्तुत गरेको छ ।

बिज्ञापन

एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई नै निरन्तरता दिएर घोषणापत्र ल्याएको छ ।

१०० खर्बको अर्थतन्त्रदेखि ‘मेक इन नेपाल’ सम्म

नेकपा एमालेले आगामी पाँच बर्षको लागि २० वटा ग्यारेन्टी लिएको छ । होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्माले सार्वजनिक गरेको घोषणापत्र मार्फत् आफ्नो नेतृत्वमा आगामी सरकार बने गर्ने २० वटा कामको ग्यारेन्टीसहित एमालेले आफ्ना एजेण्डा अघि सारेको हो ।

एमालेले समृद्धिका लागि नीतिगत र संरचनागत सुधार, राष्ट्रहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

‘हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन् । सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र छ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिनेछ । एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ’, घोषणापत्रमा लेखिएको छ ।

एमालेले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेको छ । कृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार, सबै पालिकामा खाद्य भण्डार स्थापना, सबै प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना गर्ने लक्ष्य राखेको छ ।

कामका लागि खाद्यान्न तथा नगद कार्यक्रमबाट प्रतिवर्ष एक लाख परिवारलाई खाद्यसुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीन लाख परिवारलाई आय आर्जनमार्फत् खाद्यसुरक्षा प्रदान गर्ने उल्लेख गरेको छ ।

स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने, ‘पूर्णसाक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको छ ।

‘निरोगी नेपाल, सबल नागरिक’को नीति अघि बढाउने, स्वच्छ पानी, सफा वातावरण’को सुनिश्चित गर्ने, ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने लक्ष्यसहित सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराइने उल्लेख गरेको छ ।

सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने, ‘व्यवस्थित सहरः स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने, ‘सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने, सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने, ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने, सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने, ‘सभ्य समाजः मर्यादित नागरिक’को नीति कार्यान्वयन गर्ने र प्रतिव्यक्ति आय दोब्बर गर्ने महत्वाकांक्षी योजना पनि एमालेले अघि सारेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।