Uncategorized

सुदूरपश्चिमबासीलाई सतर्क रहन भूकम्पविद्को आग्रह

बिज्ञापन

काठमाडौँ, कात्तिक २३ गते । राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीले सुदूरपश्चिमका बासिन्दालाई एक/दुई दिन सतर्क रहन आग्रह गर्नुभएको छ । उहाँले पछिल्लो पटक ६.६ म्याग्नीच्यूडको भूकम्प गएको र त्यो भन्दा पहिलाका पूर्व कम्पन भएको बताउनुभयो । भूकम्प गई सकेपछि त्यसको असर केही दिन रहने हुँदा सतर्क रहन उहाँ आग्रह गर्नुभएको हो । 

बिज्ञापन

नेपालको सुदूरपश्चिम प्रदेशको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६.६ म्याग्नीच्यूडको भूकम्प गएको छ । पाँच घण्टामा सात पटक पराकम्प गएसँगै मङ्गलवार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्नीच्यूडको भूकम्पले डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीय सहितको टोलीले उद्धार गरिरहेको उहाँले जानकारी दिनुभयो । 

मङ्गलवार राति ९ बजेर ७ मिनेटमा सोही ठाउँ केन्द्रबिन्दु बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पाँच घण्टाको फरकमा पटक पटक गरी सात पटक भूकम्पको झट्का गएको थियो । क्षतिको विवरण भने अझै आउन बाँकी रहेको छ । 

बिज्ञापन