खेलकुद

हारमा सबैभन्दा दुःखी रोनाल्डो र म : प्रशिक्षक सान्तोस

बिज्ञापन

काठमाडौं, मङ्सिर २५ गते । कतारमा जारी विश्पकपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक फर्नान्डो सान्तोस चर्चामा रहनुभयो । उपाधि दाबेदार टोली पोर्चुगल क्वार्टरफाइनलबाट बाहिरिएपछि रोनाल्डो र सान्तोसको चर्चा झनै चुलिएको छ ।

बिज्ञापन

समाजिक सञ्जालमा प्रशिक्षक सान्तोसले रोनाल्डोलाई सुरुवाती समयदेखि नखेलाएर अन्याय गरेको र टोली क्वार्टरफाइनलबाटै बाहिरिएको धारणा राखेका छन् । स्वयं प्रशिक्षक सान्तोसलाई मोरोक्कोसँगको खेलपछि यस्तो प्रश्न राखिएको थियो । सान्तोसले स्वीट्जरल्यान्डविरुद्धको प्रिक्वार्टरफाइनल खेलमा रोनाल्डोलाई दोस्रो हाफको ७४औं मिनेटमा मौका दिनुभएको थियो । उक्त खेलमा रोनाल्डोको स्थान गोन्कालो रामोसले लिनुभएको थियो ।

रामोसले जारी विश्वकपकै पहिलो ह्याट्रिक गरेको उक्त खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६-१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । तर, मोरोक्कोविरुद्धको क्वार्टरफाइनल खेल पोर्चुगलको पक्षमा आएन । शनिबार राति भएको खेलमा पोर्चुगल मोरोक्कोसँग १–० गोलले पराजित हुँदै बाहिरियो ।

यस खेलमा पनि प्रशिक्षक सान्तोसले रोनाल्डोलाई दोस्रो हाफ अर्थात् ५१औं मिनेटमा मैदान प्रवेश गराउनुभएको थियो । रोनाल्डोलाई प्रारम्भमा नखेलाएपछि प्रशिक्षक सान्तोसको आलोचना झनै भइरहेको छ । पाँचौं विश्वकप खेल्दै नयाँ इतिहास बनाउने रोनाल्डोको सपनामा खेलवाड भएको टिप्पणीसमेत समर्थकले गरिरहेका छन् । 

तर, प्रशिक्षक सान्तोसले रोनाल्डोलाई सुरुमा नखेलाएकोप्रति आफूलाई कुनै पछुतो नभएको बताउनुभएको छ । रोनाल्डो मैदान प्रवेश गरेपछि पोर्चुगलले अन्तिमसम्म गोल फर्काउने प्रयास गरे पनि सफल भएन । अन्ततः रोनाल्डो रुँदै मैदानबाट बाहिरिएको दृश्यले विश्वभरका सर्मथकको ध्यान खिचेको थियो ।

प्रशिक्षक सान्तोसले सर्मथकहरुको प्रश्न र प्रतिक्रियालाई जवाफ दिने क्रममा फुटबल समूहमा खेलिने खेल भएकोले टोलीको निर्णय अनुसार रोनाल्डोलाई दोस्रो हाफमा मैदान पठाएको बताउनुभयो । ‘‘रोनाल्डोलाई सुरुमै नखेलाएकोमा मलाई कुनै पछुतो छैन । हामीले मोरोक्कोको रक्षापङ्क्ति तोड्न नसक्दा हार खायौं । तर, यही टोलीले स्वीट्जरल्यान्डसँग धेरै राम्रो खेलेको थियो । मैदानमा कति बेला कस्लाई खेलाउने भन्ने कोचको जिम्मेवारी हो । रोनाल्डो राम्रा खेलाडी हुन् । जति बेला टोलीलाई उनको आवश्यकता रह्यो । उनी मैदानमा पसेका थिए, तर गोल भएन,’’ सान्तोसले भन्नुभयो । 

प्रशिक्षक सान्तोसले मोरोक्कोसँगको हारमा सबैभन्दा दुःखी कोही छ भने रोनाल्डो र म स्वयं भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मोरोक्कोसँगको हारमा यदि सबैभन्दा दुःखी कोही छ भने त्यो रोनाल्डो र म नै हो ।’’ उमेरले ३७ वर्ष पुग्नुभएका रोनाल्डोले आफ्ना लागि यही विश्वकप अन्तिम हुनसक्ने धारणा राख्दै आउनुभएको छ । त्यसैले यस विश्वकपमा उपाधि चुम्ने धोको पूरा नभएपछि रोनाल्डोले रुँदै मैदान छाडेको दृश्यले संसारभरका समर्थकलाई खल्लो बनाएको छ । एजेन्सी 

बिज्ञापन