खेलकुद

फूटबल मेसी र मोड्रिचलाई विश्वकपमा अन्तिम मौका

बिज्ञापन

फिफा विश्वकपको पहिलो सेमिफाइलनमा आज राति स्टार फूटबलर लियोनल मेसीको अर्जेन्टिना र लुका मोड्रिचको क्रोएशिया भिड्न लागेका छन्।

बिज्ञापन

नेपाली समय अनुसार, आज राति १२ः४५ बजे कतारको लुसैल रंगशालामा अर्जेन्टिना र क्रोएशियाको खेल हुनेछ। यो कतारको सबैभन्दा ठूलो रंगशाला हो। यसको क्षमता ८८ हजार ९६६ दर्शक अटाउने रहेको छ।

दुवै टोली पेनाल्टी सूटआउटमा क्वार्टर फाइनल खेल जित्दै सेमिफाइनलमा पुगेका हुन्। अर्जेन्टिनाले नेदरल्यान्डस्लाई पेनाल्टी सूटआउटमा ४-३ गोल अन्तरले पराजित गरेको थियो। त्यसअघि दुवै टोलीले दुईदुई गोल गरेका थिए।

त्यस्तै, क्रोएशिया ब्राजिललाई पेनाल्टी सूटआउटमै ४-२ गोल अन्तरले पराजित गरेको थियो। त्यसअघि दुवै टोलीले एकएक गोल गरेका थिए।

अर्जेन्टिना र क्रोएशिया विश्वकपमा तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेका छन्। यअसघि भएका दुई खेलमा एकएक खेल जितेका छन्। सन् २०१८ को विश्वकपमा दुवै टोली एउटै समूहमा रहेका थिए। समूह चरणमा क्रोएशियाले अर्जेन्टिनालाई ३-० गोल अन्तरले पराजित गरेको थियो।

त्यसअघि सन् १९९८ को विश्वकपमा पनि दुवै टोली एउटै समूहमा रहेका थिए। त्यतिवेला समूह चरणको खेलमा अर्जेन्टिनाले क्रोएशियालाई १-० गोल अन्तरले पराजित गरेको थियो।

पछिल्लो पाँच खेलमा भने क्रोएशिया बलियो देखिन्छ। पाँच खेलमा क्रोएशियाले तीन खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ। हार बेहोर्नु परेको छैन।

क्रोएशियाले क्वार्टर फाइनलमा ब्राजिललाई, प्रिक्वार्टर फाइनलमा जापानलाई र समूह चरणमा क्यानडालाई पराजित गरेको थियो। त्यस्तै, समूह चरणमा बेल्जियम र मोरोक्कोसँग गोलरहीत बराबरी खेलेको थियो।

अर्जेन्टिनाले भने एक खेलमा हार बेहोरेको छ। क्वार्टर फाइनलमा नेदरल्यान्डस् र प्रिक्वार्टर फाइनलमा अस्ट्रेलियालाई पराजित गरेको अर्जेन्टिनाले समूह चरणमा मेक्सिको र पोल्यान्डलाई पराजित गरेको थियो। तर, पहिलो खेलमै साउँदी अबरसँग २-१ गोल अन्तरले हार खेपेको थियो।

आजको खेल जितेमा अर्जेन्टिना छैटौं पटक फाइनलमा प्रवेश गर्नेछ। यो भन्दा बढी आठ पकट जर्मनी विश्वकपको फाइनलमा पुगेको छ।

अहिलेसम्म अर्जेन्टिनाले विश्वकपको सेमिफाइनलमा हारेको छैन। पछिल्लो पटक सन् २०१४ को विश्वकपमा नेदरल्यान्डस्लाई सेमिफाइनलमा हराएको थियो।

आजको खेल जितेमा क्रोएशिया लगातार फाइनलमा पुग्ने चौथो युरोपियन देश हुनेछ। यसअघि इटाली सन् १९३४ र १९३८ मा, नेदरल्यान्डस् सन् १९७४ र १९७८ मा तथा जर्मनी सन् १९८२, १९८६ र १९९० मा विश्वकपको फाइनलमा पुगेका थिए। क्रोएशिया पनि गत विश्वकपमा फाइनलमा फ्रान्ससँग पराजित भएको थियो।

क्रोएशियाले आज अर्जेन्टिनालाई हराएमा अर्को रिकर्ड पनि बनाउनेछ। ब्राजिल र अर्जेन्टिनालाई एउटै विश्वकपमा नकआउट चरणमा हराउने दोस्रो देश बन्नेछ। यसअघि जर्मनीले सन् २०१४ को विश्वकपमा ब्राजिल र अर्जेन्टिनालाई नकआउट चरणमा हराएको थियो। जारी विश्वकपमा क्रोएशियाले ब्राजिललाई क्वार्टर फाइनलमा हराइसकेको छ।

अर्जेन्टिनाले विश्वकपमा युरोपियन देशविरुद्ध खेलका सात खेलमा एउटा मात्रै जितेको छ। त्यो भनेको जारी विश्वकपको समूह चरणमा पोल्यान्डलाई २-० गोल अन्तरले हराएको थियो। अन्य तीन खेल हारेको छ भने तीन खेल बराबरी गरेको छ।

आजको खेल दुवै टोलीका कप्तानका लागि महत्वपूर्ण मानिएका छन्। किनकि, अर्जेन्टिनाका कप्तान लियोनल मेसी र क्रोएशियाका कप्तान लुका मोड्रिचको सम्भवतः यो अन्तिम विश्वकप हुनेछ। अहिले मेसी ३५ वर्षका भए भने मोड्रिच ३७ वर्षका भए। चार वर्षपछि उमेरका हिसाबले पनि दुवै फूटबल स्टारलाई विश्वकप खेल्न सहज हुनेछैन।

त्यसैले दुवै टोली आफ्ना कप्तानको सुखद विदाइका लागि पनि खेलिरहेको विश्लेषण गर्न थालिएको छ। दुवै कप्तानका लागि पनि विश्वकपमा जादू देखाउने अन्तिम मौका हो। आज पराजित हुने कप्तानका लागि सम्भवतः विश्वकपको अन्तिम खेल हुनेछ।

बिज्ञापन