राजनीति

६० सांसदको कमाण्ड आफूसँग रहेको भन्दै गठबन्धनमा प्रचण्डको बार्गेनिङ, एमालेसँग पनि संवादमा

बिज्ञापन

काठमाडौं । नयाँ संसद्को समीकरण पूर्ण भएसँगै सत्ता राजनीतिको लिगलिगे दौड सुरु भएको छ । भावी सरकारको नेतृत्व कसले गर्ने भन्ने अहम् प्रश्न चाहिँ सुल्झिसकेको छैन ।

बिज्ञापन

प्रधानमन्त्री बन्ने दौडमा कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै अगाडि छन् । तर प्रमुख सत्ता साझेदार दल नेकपा माओवादीले उनलाई ग्रीन सिग्नल दिएको छैन । बरु माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ प्रधानमन्त्री बन्ने दाउमा छन् । चुनावी सरकारको नेतृत्व देउवाले गरेकाले अब आफूले पालो पाउनुपर्ने उनको दाबी छ ।

चुनावअघिको आलोपालो सहमति अनुसार देउवा आगामी सरकारको नेतृत्व प्रचण्डलाई दिन लचक पनि छन् । तर, संस्थापन इतर पक्ष प्रचण्डलाई नेतृत्व छाड्न राजी देखिएको छैन । पार्टीभित्र महामन्त्री गगन थापा संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छन् । अहिले महामन्त्री थापालाई देउवाले पनि कम आँकेका छैनन् । अंकगणितमा देउवा हाबी हुने भए पनि युवा नेताहरूमा गगनले नयाँ ह्वीम ल्याइदिन सक्ने चिन्ता उनलाई छ ।

पार्टीभित्र दबाबमा परेका देउवालाई गठबन्धनमा सामेल दोस्रो ठुलो दल माओवादीका अध्यक्ष प्रचण्डले समेत तनाव दिँदै छन् । प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, जसपा, सिके राउत नेतृत्वको जनमत पार्टीसहित स्वतन्त्र उम्मेदवार प्रभु शाह र किरण साहसमेत आफूसँग रहेको देखाएर दबाब बढाइरहेको स्रोत बताउँछ ।

रणनीतिक मूभ चालेका प्रचण्डले राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको दाबी गर्दै आइरहेका छन् । प्रचण्डले आफू छिट्टै देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेकोसमेत सार्वजनिक रूपमै बताउँदै आइरहेका छन् ।

बुधवार आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भनेका थिए, ‘तपाईँको आशीर्वाद र शुभकामना लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु । यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु ।’

बिज्ञापन