मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्राे

काठमाडौं । क्रोएसियाले फिफा विश्वकप-२०२२ मा तेस्रो स्थान हासिल गरेको छ । शनिबार खलिफा रंगशालामा मोरक्कोमाथि २–१ को जित हासिल गर्दै क्रोएसिया तेस्रो भएको हो ।
क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले १–१ गोल गरे । मोरक्कोका लागि अक्रफ दारीले बराबरी गोल फर्काएका थिए । मोरक्कोले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेपनि डोमिनिक लिभाकोभिचलाई परास्त गर्न सकेन । गत संस्करणमा उपविजेता बनेको क्रोएसिया यसपटक तेस्रो स्थान हासिल गर्न सफल भयो ।

निकै प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लिएको थियो । जोस्को भार्डीओलले हेडरमार्फत उत्कृष्ट गोल गर्दै क्रोएसियालाई अघि बढाए । फ्रिकिकमा इभान पेरिसिचले दिएको हेडर पासलाई उनले डाइभ दिँदै गोलमा परिणत गरे ।
तर मोरक्कोले २ मिनेटपछि नै गोल फर्कायो । अक्रफ दारीले मोरक्कोलाई सेट पिसमा क्लियर हुन नसकेको बलमा गोल गरेका थिए । उनले फ्रिकिकबाट आएको बललाई क्रोएसियाका डिफेन्डरले क्लियर गर्न नसक्दा हेडरमार्फत गोलतर्फ पठाए ।
४२ औं मिनेटमा क्रोएसियाले पुन अग्रता लियो । मिस्लाभ ओर्सिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट सुन्दर गोल गरे । उनले गरेको प्रहार गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।
दोस्रो हाफमा कुनै गोल हुन नसक्दा क्रोएसिया तेस्रो स्थान हासिल गर्न सफल भयो । प्रतियोगिताको फाइनल आइतबार हुनेछ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्नेछन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
