काठमाडौंमा वृहत सत्संग कार्यक्रम सम्पन्न
निराकारको साक्षात्कार दर्शन गर्न सत्गुरुको आवश्यकता पर्दछ– विनोद वोहरा (मैम्बर ईन्चार्ज दूरदेश एवं सेवादल विभाग–सं.नि.मं., दिल्ली)

काठमाडौं, ३ पुष । निराकारको साक्षात्कार दर्शन गर्न सत्गुरुको आवश्यकता पर्दछ । उक्त कुरा सन्त निरंकारी मण्डल नेपालको केन्द्रीय कार्यालय ललितपुरमा आयोजित विशाल सत्संग कार्यक्रमलाई सम्बोधित गर्दै सन्त निरंकारी मण्डल केन्द्रीय कार्यालय दिल्लीबाट आउनु भएका मेम्बर ईन्चार्ज दूरदेश एवं सेवादल विभाग विनोद वोहराले संयौंको संख्यामा उपस्थित सन्त–महापुरुषहरुलाई सम्बोधन गर्दै बताउनु भएको हो ।
उहाँले सत्गुरुको माध्यमबाट यस प्रभुलाई जानेर यसमाथि हामीले आफ्नो ध्यानलाई केन्द्रित गर्नुपर्ने बताउँदै गुरु बिना भक्ति गर्न सम्भव छैन् । भक्ति केवल एकलाई जान्नुबाट हुन्छ । जबसम्म हामीले एकलाई मान्दैनौ तबसम्म हाम्रो भक्ति प्रबल हुन सक्दैन । सत्गुरुको माध्यमबाट नै यस निराकारको साक्षात दर्शन गर्न सकिन्छ । सत्गुरुको माध्यमबाट मात्र यस परमात्मालाई जान्न सकिन्छ । जस्तै पानीको तिर्खा मेट्नको लागि गिलास वा कुनै भाँडोको आवश्यकता पर्दछ, केवल पानी–पानी भनेर पानीको तिर्खा मेट्न सकिदैन त्यसको लागि कुनै माध्यम चाहिन्छ, त्यस्तै प्रकार निराकारको साक्षात्कार दर्शन गर्नको लागि सत्गुरुको आवश्यकता पर्दछ ।


जुन ज्ञान सत्गुरुले हामीलाई प्रदान गरेको छ त्यो अमूल्य ज्ञान हो । जसलाई पाएर आज हामी आफ्नो जीवनलाई सार्थक गरिरहेका छौ । यो जुन मानव योनि हामीलाई मिलेको छ, त्यो यस निराकार–परमात्माको जानकारीको लागि मिलेको हो । मानव योनि दुर्लभ छ । जस्तै कुनै फल रुखको हाँगाबाट तल खस्छ भने त्यसलाई पुनः हाँगामा जोड्न सम्भव हुँदैन, त्यस्तै प्रकार महात्माहरुले सम्झाउनु भएको छ कि मानव योनि पनि यस्तै प्रकारको रहेको छ एक पटक पाईसकेपछि पुनः पाईन्दैन । जुन प्रकार एउटा भरयाङ्ग हुन्छ जसलाई घर बनाउने कामदार वा पेन्टरले घर बनाउन वा पेन्टिङ गर्न प्रयोग गर्दछन् । कुनै कामदार त्यस भरयाङ्गको माथिल्लो खुट्किलोमा पुगेर छतमा पुग्नु अगावै तल खस्न पुग्छ भने त्यस कामदारको पूरा मेहनत पानी हुन जान्छ । छतमा पुग्नको लागि त्यसलाई पुनः तलदेखि पहिलो खुट्किलोबाट चढ्नु पर्ने हुन्छ । यस्तै प्रकारले महात्माहरुले सम्झाउनु भएको छ– हे मानव ! तिमीलाई मानव योनि प्राप्त भएको छ, यो सुनौलो अवसर परमात्माले दिएको छ, बाँकी जतिपनि समय तिमीले आफ्नो जीवनमा व्यतित गरिरहेका छौ, त्यो केवल तनलाई सजाउनको लागि गरिरहेका छौ चाहे त्यो रोटी होस, कपडा होस वा घर होस । यो केवल शरीरको लागि तिमी विहानदेखि राति न सुत्दासम्म गरिरहेका छौ । जन्मदेखि तिमीले केवल शरीरलाई सजाउने कार्यको लागि गरिरहेका छौ, उहाँले भन्नुभयो ।

वोहराले भगवत गीतामा उल्लेख गरिएका कुरालाई बताउँदै भगवान श्रीकृष्णले अर्जुनलाई उपदेश दिदै सम्झाउने प्रयास गर्दा अर्जुन सम्झिन सकिराख्नु भएको थिएन । कृष्णले हे अर्जुन ! चौरासी लाख योनि बदल्दा–बदल्दा जब जीव मानव योनिमा आउँदासम्म चेतन हुनु पर्छ, चेतन पनि यति हुनु पर्ने छ कि यस निराकार–परमात्मालाई जान्नु पर्ने छ । मानव योनिमा आएपनि यस निराकारको जानकारी हासिल गरेनौभने फेरि चौरासी लाख योनिमा फर्किनु पर्ने छ । जस्तै कुनै माँकुरो हुन्छ, त्यो कुनै घरमा माथिसम्म हिड्छ र त्यसले जाल बुनेर आफ्नो घर बनाउने गर्दछ । ऊ जालमा कैयौ पटक जान्छ र खस्ने गर्दछ फेरी चढ्ने गर्दछ । यस प्रकार महात्माले सम्झाउनुभयो कि अनेकौं चौरासी लाख योनिहरु काटेर बल्ल यो मानव योनि पाईएको हो । यो मानव योनि परमात्मालाई प्राप्त गर्न वा यसको जानकारी गर्नको लागि मिलेको हो । आफ्नो मूलको जानकारी गर्नको लागि मिलेको हो, उहाँले सम्झाउनु भयो ।
उहाँले अगाडि भन्नुभयो कि भक्तिको बिना धेरै ठुला–ठुला विद्वान, ज्ञानी डुब्न गए । रावण प्रचण्ड पण्डित थियो जो चार वेद, छ शास्त्रको ज्ञाता थियो, जोसंग सुनको लंका थियो, धन–सम्पत्तिको कुनै कमि थिएन । पारिवारिक सदस्यहरुबाट पनि परिपूर्ण थियो तर जब ऊ संसारबाट विदा भयो उसले केहिपनि लिएर गएन । यो सबै किनभयो भन्दा ऊ भगवान रामको शरणमा नआएर भगवान रामलाई चिन्न सकेन र अन्तमा आफ्नो घमण्डले गर्दा उसको मृत्यु हुनगयो । त्यस्तै हिरण्यकश्पुले भक्ति गरयो उसको भक्ति देखेर भगवान ब्रम्हा धेरै खुशी हुनुभयो र उसले जुन वर माग्यो त्यो उसलाई मिल्यो तर अन्तमा उसको पनि आफ्नो अहंकारको कारण भगवानकै हातबाट मृत्यु हुनु परयो ।
जब हरिको कृपा हुन्छ तब महान सन्तहरुको संगत प्राप्त हुन्छ । उनीहरुले सत्गुरुको चरणमा लिएर जान्छन् र यस ब्रम्हज्ञानको प्राप्ति गराउने गर्दछन् । भगवान श्रीकृष्णले अजुर्नलाई सम्झाउँदै भन्नुभयो कि हेर मेरो यो विराट स्वरुप, जसलाई कुनै शास्त्रले काट्न सक्दैन, अग्निले जलाउन सक्दैन, पानीले भिजाउन सक्दैन, वायुले उडाउन सक्दैन, म उत्पतिको साथ उत्पन्न हुन सक्दैन, म प्रलयको साथ प्रलय हुन सक्दैन, न जन्मिन्छु, न मर्छु, न आउँछु, न जान्छु, म तीन काल सत्य हुँ, अनन्त हुँ, अजन्म हुँ, अविनाशी हुँ, जसले मलाई मेरो शरीर भनेर पूजा गर्दछन् वा मलाई जान्दछन्, तिनीहरु धेरै अज्ञानी हुन् । म कुनै शरीर होइन, शरीर देहदेखि टाढा हुन्छ । ब्रम्हज्ञानी जो पैगम्बर यस धर्तीमा आउने गर्दछन्, तिनीहरु शरीरमा अवतरीत हुने गर्दछन् तर तिनीहरु शरीर हुँदैनन् । भगवान श्रीकृष्णले अगाडि सम्झाउँदै भन्नुभयो कि हे अर्जुन ! जोसुकैलाई मेरो निराकार स्वरुपलाई जान्ने ईच्छा हुन्छ, तिनीहरुले मेरो कुनै ब्रम्हज्ञानी भक्त कहाँ गएर डण्डवत प्रणाम वा हात जोडेर प्रणाम गरेर भन्छन् कि मलाई निराकार–साकारको दर्शन गराउनु होस तब मेरो ब्रम्हज्ञानी भगतले क्षणभर मै यस निराकारको साक्षात दर्शन गराउने छ, यस निराकारसंग जोडी दिनेछन् । आज संसारमा निरंकारी मिशनले यही कार्य गरिरहेको छ । सत्गुरु माता सुदीक्षा जी महाराज सत्गुरुको रुपमा आज प्रकट हुनुहुन्छ । आज यही कार्य गरिरहनु भएको उहाँले बताउनु भयो ।

उहाँले ‘एकलाई जान, एकलाई मान, एक हौं’ माथि प्रकाश पार्दै एकलाई जान्नु यो हाम्रो जीवनको शुरुवाती अवस्था हो, यो हाम्रो जीवनको पहिलो पाईला हो कि म एक मानव बनेर यस धर्तीमा आएको छु । एक प्रभु–परमात्माको सन्तान बनेर आएको छु, जसले मलाई जन्म दिएको छ, मलाई बचाउनको लागि जसले सम्पूर्ण श्रृष्टिको रचना गरेको छ, जसले जल, वायु, आकाश वा नौ प्रकृतिको रचना गर्नुभयो मलाई जिउँदो राख्नको लागि । सूर्य, चन्द्रमा, ताराहरुको उत्पत्ति गर्नुभयो मलाई जिउँदो राख्नको लागि, अग्नि, धर्ती, पानीको उत्पत्ति गर्नुभयो मलाई जिउँदो राख्नको लागि । यदि यसमा एउटा पनि चीजको उत्पत्ति नभएको भए म यस संसारमा जिउँदो रहने थिएन होला । यति सबै जो निरंकारले गरयो, यति सुन्दर रुप मानवको दियो, आज त्यसको मलाई कुनै जानकारी नै छैन् भने मानव योनि पाएको कुनै सार्थक भएन । आज मानवले ठुला–ठुला भवन, टावर, फलाईओभर, मल, हतियार बनाउन सफल भएको छ, के मानवको यो नै विशेषता हो ? पक्का पनि होइन, मानवको विशेषता केवल सेल्फ रिलाईजेसनबाट हुन्छ अर्थात आफ्नो मूलको जानकारीबाट हुन्छ । यो जानकारी पूर्ण सत्गुरुको द्वारमा आएर यस ब्रम्हज्ञानको जानकारीबाट आफ्नो मूलको जानकारी हुने छ । आज हामीलाई यस ब्रम्हज्ञानको जानकारी नभएका कारण हामी पशु समान छौं । आज मानव योनि पाएर पनि केवल खानु–पिउनु–सुत्नुमा आफ्नो जीवन व्यातित गरिरहेको छौ, त्यही कार्य पशु–पंक्षीले पनि गर्दै आइरहेका छन् । यी कार्यहरु चौरासी लाख योनिहरुमा पनि गर्दै आइरहेको थियांै भने मानव योनि पाउनुको अर्थ के रह्यो ? त्यसैले मानवले आफ्नो मूलको जानकारी गर्नु छ कि कुन कारण परमात्माले मलाई यस धरातलमा पठाएको हो, त्यसको बारेमा जान्नु आवश्यक छ । त्यसैले आफ्नो स्वयंको जानकारी केवल यस परमात्माद्वारा मात्र हुन सक्छ, अन्यथा अरु कुनै माध्यबाट हुन सक्दैन । जबसम्म हामीले आफ्नो मूल अर्थात परमात्माको जानकारी हासिल गर्दैनौ तबसम्म हामीलाई आफ्नो कुनै जानकारी हुन सक्दैन । हामी आफूलाई हिन्दू, मुस्लिम, सिख, ईसाई कोहि आफूलाई हिन्दूस्थानी, कोहि नेपाली, कोहि गुजराती, कोहि पंजाबी, कोहि मराठी आदि अनेकौं आफ्नो भेशभूषा, खान–पान, रहन–सहनको आधारमा, कोही धनि–गरीब, सानो–ठुलोको आधारमा, शिक्षित–अशिक्षितको आधारमा हामीले मानव–मानवमा बाँड्यौं । तर सन्तहरुले भनेका छन् कि मानव जात केवल मनुष्य हुनु हो, अरु कुनै जात छैन । उहाँले उदाहरण दिदै सम्झाउनुभयो कि कुनै डब्बाको त्यतिबेलासम्म त्यसको महत्व हुन्छ जबसम्म त्यसमा कुनै मूल्यवान वस्तु रहेको हुन्छ, जब त्यो मूल्यवान वस्तुलाई त्यहाँबाट झिकिन्छ त्यसपछि फेरि त्यस डब्बाको कुनै महत्व हुँदैन । त्यस्तै प्रकार जुन घटमा राम बसेको छ, त्यस घटको कदर हुने गर्दछ । पैगम्बरको घट यस्तो हुन्छ कि जसमा राम बसेको हुन्छ, परमात्मा बसेको हुन्छ । यस निरंकार प्रभुले कुनै घटलाई चुन्ने गर्दछ र त्यसको घटमा गएर बस्ने गर्दछ, त्यसलाई नै ब्रम्हज्ञान भनिन्छ ।
आज विभिन्न धर्म–ग्रन्थहरुमा अनेकौं कुराहरु उल्लेख गरिएका छन्, त्यसलाई भनिरहेका छन्, सम्झाई रहेका छन् तर जबसम्म हामी जो मूल वा आधार ब्रम्हज्ञान छ, जुन एकलाई मान्नु छ, एकलाई जान्नु छ र एक हुनुको हामीलाई बोध हुन्छ भने हाम्रो आत्माको कल्याण सम्भव छ । हामीलाई थाह हुन्छ कि मेरो केवल एउटै परमात्मा छ, मेरो पालन–पोषण वा यो पूरा श्रृष्टिको रचना गर्ने यो केवल एक परमात्मा हो र हामी सबै यसै एक परमात्माका सन्तान हौ भन्ने भावना हामीभित्र जागृत हुन जान्छ भने हामीले आफ्नो मूलको जानकारी हासिल गरेर मानव योनि पाएको सार्थक गर्न सक्छौ, उहाँले बताउनु भयो ।
त्यस्तै प्रकारले सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमालले निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक विशुद्ध आध्यात्मिक विचारधारा बताउँदै सन्त निरंकारी मिशनले न त कुनै नयाँ रितिरिवाजलाई जन्म दिन चहान्छ, न त कुनै पुरानो रितिरिवाजलाई तोड्न चहान्छ । सन्त निरंकारी मिशनले धर्म परिवर्तन होइन भावना परिवर्तन गराउन चहान्छ । यसले केवल एक परमात्मा–ईश्वर जसलाई हामी अनन्त नामले जान्दछौ अर्थात पुरातन महात्माहरुले भनेका छन् कि जुन परमात्मालाई जानेर जीवनको शुभारम्भ हुन्छ । परमात्मालाई जानेबिना भक्ति केवल शुभारम्भ हो त्यसको प्राप्ति हुँदैन । सन्त निरंकारी मिशनको माध्यमबाट आज सत्गुरु माता सुदीक्षा जी महाराजले मानव मात्रलाई त्यो परमात्मा–ईश्वर–हरिको अनुभूति गराउनुु हुन्छ । जुन प्रकारले पानीलाई अनेकौं नामहरुबाट सम्बोधन गर्ने गरिन्छ, ठिक त्यस्तै प्रकारले परमात्मालाई चाहे कुनैपनि मान्छेले अनेक नामले पुकारोस तर परमात्मा केवल एक मात्र हुनुहुन्छ । जब यस परमात्मालाई जान्न सकिन्छ त्यसपछि मात्र मान्छेले मान्छेमा भएको विभेद छ त्यो समाप्त भएर जान्छ, उहाँले प्रष्ट पार्नुभयो ।
स.नि.मं. नेपालका केन्द्रीय सह–सचिव नरबहादुर बि.क.ले निरंकारी मिशनले आज दुई वटा कुरालाई अगाडि बढाई रहेको छ जसमा एउटा रहेको छ ‘आध्यात्मिक जागृति’ । जबसम्म आध्यात्मिक जागृति हुँदैन तबसम्म विश्व–वन्धुत्व कायम हुन सक्दैन । परमपिता–परमात्माको जबसम्म जानकारी हुँदैन वा त्यसको बोध हुँदैन तबसम्म हामी बीच रहेका जतिपनि असमानताहरु छन्, तिनीहरुले ठाउँ पाउँदैनन् । अर्कोतिर मिशनले समाज कल्याणको बाटोलाई अंगालेको छ, वर्तमान अवस्थामा यसको निकै ठुलो भूमिका रहेको छ । जस्तै मिशनले विश्वमा रक्तदान अभियानलाई तिब्र रुपमा अगाडि बढाउँदै लिएको छ । मिशनको सिद्वान्त नै रहेको छ कि ‘रगत नालीमा होइन, नाडीमा बगाउनु पर्छ’ भन्ने मूल मन्त्रलाई आत्मासाथ गर्दै विश्वका अधिकांश देशहरुमा रक्तदानलाई बढाव दिरहेको उहाँले बताउनु भयो ।
यसरी नै स.नि.मं. नेपालका केन्द्रीय कोषाध्यक्ष कृष्णकन्हैया पाठकले सबैसंग प्रेम गर्न परापूर्व कालदेखि सन्त, महात्मा, ऋषि–मुनि, पीर–पैगम्बरहरुले सम्झाउँदै आएका छन् । प्रेमको जो सागर छ, जो आनन्दको सागर छ वा प्रेमको मुख्य स्रोत छ त्यो परमात्मा–ईश्वर हो । जबसम्म हामीले परमात्माको बोध हासिल गर्दैनौ, यस ह्दयभित्र हाम्रो आत्मालाई यस परमात्माको बोध हुँदैन वा जानकारी हुँदैन तबसम्म त्यो प्रेमको जागृति हुन सक्दैन, उहाँले बताउनुभयो ।
सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले निराकार परमात्मा सर्वोपरि रहेको बताउँदै संसारमा जतिपनि दृष्य–अदृष्य वस्तुहरु छन् ती सबै नाशवान छन्, तिनीहरुको एक न एक दिन अवश्य नाश हुने छ तर जो परमात्मा–निराकार छ त्यो कहिल्यै नाश हुने छैन् । सत्गुरुको द्वारमा आउनुभन्दा पहिले हामी अनेकौ पदार्थहरुलाई ईश्वरको रुप मानेर पूजा–आर्चना गरिरहेका थियौं, तिनीहरुलाई ईश्वरको स्वरुप सम्झिरहेका थियौै तर जब सत्गुरुमाथि हाम्रो कृपा भयो तब यस निराकारको साक्षात दर्शन गर्ने सौभाग्य प्राप्त भयो । जसको भक्ति जसको पूजा गरिरहेका छौ त्यसको ज्ञान जरुरी छ, ज्ञानबाट मात्र हामी सच्चा भगवानको दर्शन गर्न सक्छौ र हाम्रो भक्ति प्रवल हुन जान्छ । साक्षात दर्शन भएपछि मात्र हाम्रो भक्ति ह्दयमा टिक्न सक्छ र हामी मुक्ति पथमा अग्रसर हुन सक्छौ । हामीले जसको पूजा र भक्ति गरिरहेका छौ त्यसको जानकारी वा ज्ञान हुनु आवश्यक छ तब मात्र जीवन सार्थक हुन्छ, उहाँले बताउनुभयो ।
उहाँले निरंकारी मिशनले बिग्रेका–भत्केका, दुव्र्यशन, कुलत संस्कारमा लागेका, लोभ–लालच, मोह–माया, अहंकारमा फसेकाहरुलाई सुधार गरेर आध्यात्मिक जागृति प्रदान गरिरहेको छ । जुन प्रकारले पुराना भाडा–वर्तनहरुलाई कारखानाबाट पुनः रिफाईण्ड गरेर नयाँ स्वरुप दिन सकिन्छ त्यस्तै प्रकारले सत्गुरुले सन्त निरंकारी मिशनलाई हाम्रो सुधार केन्द्र बनाई दिएको छ । सत्गुरुको चरणमा आएर ब्रम्हज्ञान प्राप्त गरेर मात्र हामी मानव योनि पाएको सफल गर्न सक्छौ बताउनुभयो ।
सत्संग कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ, जसपाकी प्रतिनिधी सभासद रन्जु ठाकुर, सन्त निरंकारी मण्डल नेपालका उपाध्यक्ष कृष्ण पन्थ, क्षेत्रिय सेवादल संचालक नर बहादुर बटाला, बाबुराज महर्जन, बेचु रजक, समिता योगी, रामशंकर साह, राजन रेग्मी, दीपक रावल, बाबुकाजी एवं साथी, विमिशा एवं साथी, हृदय गणेश, राजकुमार शिवाकोटी, राघव प्रताप ठाकुर, विजय निरंकारी, बीरेन्द्र चौधरी लगायतले भजन वा प्रवचनको माध्यमबाट व्यक्त गर्नु भएको थियो । उक्त अवसरमा ललितपुर महानगरपालिका वडा नं.२९ का गणेश कुमार महर्जन, जसपाकी प्रतिनिधी सभासद रन्जु ठाकुर, मानव अधिकार आयोग नेपालका केन्द्रीय सदस्य मिहिर ठाकुर, कानून महाशाखा, राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख उप–सचिव झंकर रावल, नेपाल राष्ट्र बैंकका उप आयुक्त पदमराज रेग्मी, पूर्व सहायक शिक्षामन्त्री हस्त बहादुर मल्लको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सचिव अनिल महर्जनले गर्नु भएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.