राजनीति

देउवा र प्रचण्डबीचकाे साढे दुई घण्टा छलफल निष्कर्षविहीन, दुवैले छाेडेनन् प्रधानमन्त्रीकाे अडान

बिज्ञापन

काठमाडौं । आगामी सरकार गठनलगायत विषयमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल निष्कर्षविहीन बनेको छ ।

बिज्ञापन

दुवैले पहिलो चरणमा प्रधानमन्त्रीको दाबीबाट पछि नहटेपछि सहमति जुट्न नसकेको हो ।

माओवादी अध्यक्ष दाहालले पहिलो चरणमा आफू प्रधानमन्त्री बन्नु पर्ने अडान राखेका थिए । यता कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा कांग्रेसले सरकार नेतृत्व गर्न पार्टीभित्र चर्को दबाब आइरहेको सुनाएका थिए । उनीहरुबीच प्रधानमन्त्रीकै विषयमा सहमति जुट्न नसकेको हो ।

दुई नेताबीच करिब साढे दुई घण्टा छलफलमा ठोस समझदारी नबनेपछि शनिबार पुनः छलफल गर्ने गरी बैठक टुङ्गिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

उनका अनुसार भोलि ३ बजे बस्ने गरी आजको बैठक सकिएको हो । दाहाल पहिलो चरणमा गठबन्धनबाटै प्रधानमन्त्री बन्न खोजिरहेका छन् । गठबन्धनमा सहमति नभए एमालेसँग पनि माओवादीको सहकार्यको ढोका खुल्ला राख्न नेताहरू लागिपरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस अघि नै गठबन्धन तोडेर आए प्रचण्डलाई प्रधानमन्त्री दिन सकिने आशय व्यक्त गरिसकेका छन् ।

नयाँ सरकारका लागि राष्ट्रपतिले दिएको सात दिन आइतबार सकिँदै छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न पुस १० गते अपराह्न ५ बजेसम्मको समय दलहरूसँग छ । यही समयभित्र दलहरूले बहुमत जुटाएर पेश गर्नुपर्नेछ । राष्ट्रपतिले दिएको समय सीमा सकिन २ दिन मा बाँकी रहँदा पनि दलहरूबीच अझै ठोस सहमति भएको छैन ।

बिज्ञापन