अर्थ

सहाबुन खातुनको वेदना- २ लाख १० हजार ऋण दिएका साहुले मागे १ करोड ८५ लाख

बिज्ञापन

सिरहा । मिटर ब्याजीको जालमा फसेकी सुखीपुर नगरपालिका- ५ लरकन्हाकी सहाबुन खातुन घरबारविहीन बन्ने अवस्थामा पुगेकी छन् । भएको सबै जग्गा मिटर ब्याजीले हडप्न खोजेपछि उनी न्यायका लागि भौतारिइरहेकी छन् ।

बिज्ञापन

१५ वर्ष अगाडि उनका श्रीमान सहाबुद्दिन खान (निधन भइसकेको)ले स्थानीय असर्फी मुखियाको नाममा १४ कट्ठा जग्गा दृष्टिबन्धक राखेर १ लाख रुपैयाँ कर्जा लिएका थिए । सहाबुद्दिन बेरोजगार थिए । आमा बिरामी परेपछि उपचार गराउन मुस्किल भयो । आमाकै उपचार गराउन उनले सयकडा ३ रूपैयाँ ब्याजमा असर्फीबाट ऋण लिएका थिए ।

एक वर्षपछि असर्फीले पैसाको काम पर्‍यो भनेर ऋण तिर्न सहाबुद्दिनलाई दबाब दिन थाले । तर, सहाबुद्दिन ऋण तिर्नसक्ने अवस्थामा थिएनन् ।

साहुको दबाब थेग्न नसकेपछि उनले औरही गाउँपालिका ४ का बेचन यादव (महराजी)सँग २ लाख १० हजार रुपैयाँ ऋण लिए । त्यो रुपैयाँले असर्फीको ऋण र ब्याज चुक्ता गरे । अनि असर्फीबाट १४ कट्ठा जग्गा बेचनको नाममा सारिदिए ।

बेचनलाई पनि उनले सयकडा ३ रुपैयाँ ब्याज दिने सहमति गरेका थिए । १४ कट्ठा जग्गा राख्दासमेत बेचनले थप जग्गा पास गर्न दबाब दिए । उनको आँखा सहाबुद्दिनको करिब ८ कट्ठा रहेको घडेरीमा परे ।

सहाबुद्दिन घडेरी जग्गा उनलाई पास गर्ने पक्षमा थिएनन् । पछि बेचनले अन्य मान्छेहरुबाट दबाब दिन लगाए । यद्यपि सहाबुद्दिन तयार भएनन् । पछि धाकधम्की दिन थालेपछि घडेरी जग्गा पास गर्न पनि विवश भए ।

घरमै गएर धाकधम्की लगाएपछि सहाबुद्दिनले घर बनाइ बसोबास गरिरहेको ८ कट्ठा जग्गा बेचनको बुहारी इन्दिरादेवीको नाममा पास गरिदिए । उक्त जग्गा पास गरेको दोस्रो दिन सहाबुद्दिनको हर्टअट्याक भएर ज्यान गयो ।

सहाबुन भन्छिन्, ‘म माइत गएको थिएँ । साहु बेचनले लठैत लगाएर मेरो श्रीमानबाट जबरजस्ती घडेरी जग्गा पास गराए । जग्गा पास गरेर घर आएलगत्तै मलाई श्रीमानले फोन गरेर भन्यो घर आऊ, नत्र मेरो मरेको मुख हेर्छौ ।’

भारतको सुपौलमा रहेकी उनी श्रीमानले आत्तिएर फोन गरेकै दिन घर आउन सकिनन् । सहाबुनले भनिन्, ‘भोलिपल्ट बिहान घर आएपछि थाहा पाएँ कि जबरजस्ती साहुले जग्गा पास गरायो । रातिमा उहाँ सुत्नुभयो । केही घण्टामै उहाँ छटपटाउन थाल्नुभो । कसैलाई केही भन्न पनि सकिनँ । हतार हतार भारतको दरभंगा लग्न खोजे । तर, बाटोमै अल्लाहको प्यारो बन्यो ।’

साहुकै कर्तुतका कारण श्रीमान गुमाएकी उनी त्यतिवेला प्रशासनमा पुग्न सकिनन् । उनी भन्छिन्, ‘त्यो वेला दिमागले काम गरेन । टेन्सन थियो । कसैले सहयोग पनि गरेनन् । पछि प्रशासनमा पुगेपछि शव ल्याउन भन्यो । अनि म कबरगाहबाट उखालेर कसरी लग्थे ?’

आफू कम बुझ्ने भएकै कारण केही गर्न नपाएको उनको भनाइ छ । मिटर ब्याजीकै कारण १४ वर्ष अगाडि सहाबुनले श्रीमान गुमाइन् । अहिले उनलाई जग्गामा घर हटाउन र रुखहरु नकाट्न भन्दै साहु बेचन र उनका आफन्तले धम्काइरहेका छन् ।

बिज्ञापन