अर्थ

दर्ता नभएका मोबाइल आजदेखि अवरुद्ध हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ प्रणालीमा दर्ता नभएका मोबाइल आज शुक्रबारदेखि नचल्ने नेपाल दूरसञचार प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको एमडीएमएस प्रणालीमा दर्ता नभएका त्यस्ता मोबाइललाई अवैध घोषणा गरेर मोबाइल नेटवर्क प्रयोग गर्न नमिल्ने सूचना जारी गरेको थियो ।  

भन्सार छलेर अवैध रूपमा भित्रिएका मोबाइलको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले यो कदम उठाउनु परेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले एक हप्ता यता सार्वजनिक सूचना नै जारी गरेर शुक्रबारदेखि दर्ताबिनाका कुनै पनि मोबाइल प्रयोगमा रोक लगाइने जनाएको थियो । प्राधिकरणका अनुसार अबदेखि व्यावसायिक वा व्यक्तिगत रूपमा ल्याइएका मोबाइल यो प्रणालीमा अनिवार्य रूपमा दर्ता गर्नुपर्ने छ । नभएमा मोबाइल चल्ने छैन ।  

बिज्ञापन

विदेशबाट व्यक्तिगत रूपमा ल्याइने मोबाइल पनि भन्सार प्रज्ञापनपत्र घोषणा भएको हुनुपर्ने प्राधिकरणको भनाइ छ । प्रज्ञापनपत्रलाई अनलाइनमार्फत एमडीएमएस प्रणालीमा दर्ता गरेर मात्र प्रयोग गर्न सकिनेछ । मोबाइल ल्याएको पहिलो दुई हप्तासम्म दर्ता विना नै सञ्चालन हुनसक्ने तर सो पछि स्वतः अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडाका अनुसार दर्ताबिनै दुई हप्ता प्रयोग गर्न सकिने सुविधा खासगरी पर्यटकलाई लक्षित गरेर उपलब्ध गराइएको सेवा हो ।  

प्राधिकरणले गत भदौ ३० गते पहिलो पटक परीक्षणकालका एमडीएमएस प्रणाली सञ्चालनमा ल्याएको थियो । त्यसअघि प्रयोगमा रहेका जुनसुकै मोबाइललाई भने प्राधिकरणले स्वतः उक्त प्रणालीमा दर्ता गरिसकेको छ । असोज महिना यता आयात भएका मोबाइललाई प्राधिकरणले अनिवार्य रूपमा दर्ता गराउनुपर्ने प्रावधान राखेको छ । 

प्राधिकरणले करिब ८० करोड रुपैयाँ लगानीमा एमडीएमएस प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ । यो प्रणालीसँग सबै दूरसञ्चार सेवा प्रदायक र भन्सार प्रणाली आबद्ध हुने व्यवस्था मिलाइएको प्राधिकरणको भनाइ छ । प्रणालीमा दर्ता नभएका मोबाइललाई कालोसूचीमा राखेर त्यस्ता मोबाइलमा ‘नेटवर्क लक’ गर्न प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिने निर्णय गरेको छ । प्राधिकरणको यो कदमको व्यवसायी र प्रयोगकर्ताले आलोचना गरेका छन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।