अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, अझै बढ्ने अनुमान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, माघ ११ गते  । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सोमबार प्रतितोला एक लाख पाँच हजार तीन सय रुपियाँमा कारोबार भएको सुनको मूल्य मङ्गलबार एकै दिन तोलामा एक हजार रुपियाँ बढेर एक लाख छ हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यो अहिलेसम्मकै उच्च हो। यसअघि २५ फागुन २०७८ मा सुनको मूल्य बढेर प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो। त्यसपछि क्रमिक रूपमा मूल्य घटेर गत भदौमा ९१ हजार दुई सय रुपियाँमा झरेको थियो। गत मङ्सिरदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि स्थानीय बजारमा समेत मूल्य बढ्दै गएको हो।

बिज्ञापन

महासङ्घका पूर्वअध्यक्ष एवं सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताका कारण सुनको मूल्य लगातार बढ्दै गएको बताउनुभयो। “अन्य मुद्राको तुलनामा डलर कमजोर हुँदा सुनको मूल्य बढ्दै गएको छ,” उहाँले भन्नुभयो, “अहिले सुरक्षित लगानीको क्षेत्र सुन देखिएकाले यसमा लगानीकर्ताको आकर्षण बढ्दै गएपछि मूल्य पनि क्रमिक रूपमा उकालो लाग्दै गएको हो।”

विश्व बजारमा मूल्य बढ्दै गएपछि केन्द्रीय बैङ्कहरूले सुनको मौज्दात बढाएको उहाँले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार सुनको मूल्य प्रतिऔँस एक हजार ९९३ डलर पुगेको छ। 

आगामी दिनमा प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ, त्यतिबेला स्थानीय बजारमा मूल्य बढेर प्रतितोला एक लाख १० हजार रुपियाँ पुग्न सक्ने शाक्यको आकलन छ। अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार अमेरिकाको फेडरल रिजर्ब बैङ्कले ४ दशमलव ५० प्रतिशतमा रहेको ब्याजदर बढाएर ५ प्रतिशत पु-याउने भनेकाले सुनको मूल्य थप बढ्ने देखिएको व्यवसायीको भनाइ छ।

पछिल्लो समय अमेरिका र चीनको व्यापारिक युद्ध, रुस र युक्रेनको युद्धका कारण सुनको मूल्य बढ्दै गएको व्यवसायीको भनाइ छ। चालू आर्थिक वर्षको छ महिना (साउन–पुस)मा प्रतितोला सुनको मूल्य तोलामा १२ हजार सात सय रुपियाँले बढेको महासङ्घको तथ्याङ्क छ। साउन महिनामा प्रतितोला ९३ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर अहिले एक लाख छ हजार तीन सय पुगेको महासङ्घले जनाएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।