राष्ट्रिय समाचार

‘पापिनी’ मेलामा किशोरी विवाह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुकुमपश्चिम, माघ १८ गते । रुकुमपश्चिमको मुसीकोट–७, साँखमा हरेक वर्ष माघ १४ गते लाग्ने ‘पापिनी’ मेला धुमधामसाथ मनाइएको छ। मेलाको प्रमुख आकर्षणका रूपमा किशोरीले बेहुलाको रूपमा सिँगारिएर विवाह कार्य सम्पन्न गरिन्छ।  रीतअनुसार बेहुली माग्ने, जन्ती जाने, बेहुली लिएर फर्कने, धुमधामको भोजभतेर र मेला भर्ने कार्य ‘पापिनी’ मेलामा गरिन्छ। यो मेला तीन दिनसम्म धुमधामसाथ मनाइन्छ। 

हरेक वर्ष माघ १४ गते साँझ दुलही माग्न जाने, १५ गते साँझ दुलहा पक्ष बाजागाजासहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने प्रचलन छ। पापिनी मेलामा गरिने विवाह वास्तविक बिहे होइन यद्यपि यो बिहेमा बेहुला बेहुली दुवै किशोरी नै हुन्छन्। किशोरीलाई नै बेहुला र बेहुलीका रूपमा शृङ्गार गरेर रीतअनुसार बेहुली माग्ने, जन्ती लिएर जाने र माइती पक्षले पनि रीतअनुसार छोरीलाई अन्माएर पठाउने परम्परा छ। १४ गते साँझ साँखको तलिगाउँबाट जन्तीसहित गएको दुलहा पक्ष माथिगाउँबाट दुलही लिएर १५ गते फर्केको थियो। १६ गते सोमबारका दिन साँख दहमा धुमधामको मेला र भोजभतेर गर्ने चलन छ।

बिज्ञापन

गाउँको बीचमा सुन्दर साँख दह छ। दहभन्दा माथि माथिगाउँ र तलको तलिगाउँ। यो वर्ष तलिगाउँले माथिगाउँसँग दुलही माग्यो र बिहेबारी भयो। अघिल्लो वर्ष तलिगाउँले दुलही अन्माएको थियो, यो वर्ष माथिगाउँले।  वडाध्यक्ष एक्कबहादुर पाण्डेका अनुसार दुई दिन लगाएर सम्पूर्ण विधि प्रक्रिया गरेर धुमधामले बिहे सम्पन्न गरिएको छ।

दुवै गाउँका केटीलाई बेहुला र बेहुलीको भूमिकामा राखिन्छ। बेहुला र बेहुली पक्षका अभिभावक, बिहे गर्ने र गराउने जन्ती जाने, भोजभतेरमा सहभागी हुने सबै अविवाहित किशोरी मात्र हुन्छन्। हरेक वर्ष माघ १४ देखि १६ सम्म साँखमा यसरी धुमधामसाथ बिहे परम्परा गरिँदै आएको छ।

यो रहर वा बाध्यताभन्दा पनि परम्परा भएको स्थानीय अगुवा पूर्णबहादुर बुढाले बताउनुभयो। साँखमा मानव बस्ती सुरु भएदेखि नै साँखदहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ। बुढाका अनुसार नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा मान्छे मर्छन् भन्ने जनविश्वास रहिआएको छ । हरेक वर्ष साँखका दुईवटा गाउँले पापिनी तयार गर्छन् र परम्परा चलाउँछन्। परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको छ। ‘पापिनी’ हुन जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने गरी तीनवटा योग्यता तोकिएको हुन्छ।

गाउँको चालचलन धान्ने कन्या ‘पापिनी’ हुनु परेको वडाध्यक्ष पाण्डेले बताउनुभयो। नक्कली बिहे भने पनि पापिनी मेला भने पनि यसको सबै जिम्मा कन्याकै हुन्छ। पुर्खौंदेखि चलिआएको यो चलनको भरथेग गर्ने कन्यालाई ‘पापिनी’ किन भनियो भन्ने उत्तर कसैसँग छैन। ‘पापिनी’ अगुवाको निर्देशन र पहलमा माघ १ देखि नै साँखदहको डिलमा थला बस्न सुरु गरिन्छ। तलिगाउँकी पापिनी दहको तल्लो डिल र माथिगाउँकी पापिनी माथिल्लो डिलमा तीन रात बस्ने गर्छन्। थला बसेका बेला आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने चलन छ। हरेक वर्ष माघ १४ गते बेहुला पक्षका ‘पापिनी’ बेहुली माग्न अर्को गाउँ अर्थात् दहको अर्को डिलमा जान्छन्। १४ गते माग्ने काम सकिएपछि उनीहरू १५ गते बिहेमा सहभागी हुने जानकारी स्थानीयले दिए। 

बेहुलापट्टिका थलामा सात र बेहुलीपट्टिका थलामा पाँच फन्को नाच्ने चलन छ। सबै विधि सक्कली बिहेजस्तै हुन्छ। पापिनी मेलाको परम्परा क्रमशः पुस्तान्तरण हुँदै गएकाले यसले निरन्तरता पाइरहेको स्थानीय अगुवाको बुझाइ छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।