राष्ट्रिय समाचार

सरकारसँग असन्तुष्ट बालेन- ज्यानको धम्की दिनेलाई संरक्षण गरेको आरोप

बिज्ञापन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आज फेसबुकमा लेखेको २ वाक्यको स्टाटसले बजार तताएको छ । उनले आफूलाई राजीनामा गर्न दबाब आएको आशय व्यक्त गर्दै ‘यो देश बन्न सक्दैन’ भन्ने निष्कर्षसमेत प्रस्तुत गरेका छन् ।

बिज्ञापन

बालेन बेलाबखत सामाजिक सञ्जालबाट आफ्ना व्यक्तिगत भावना पोख्ने गर्छन्, र तीमध्ये कतिपय उरन्ठेउला पनि हुन्छन् । स्टाटसकै कारण उनी विवादमा पनि पर्ने गरेका छन् ।

आज पनि सामाजिक सञ्जालमा उनको स्टाटसलाई लिएर मजाक गर्ने र आलोचना गर्नेहरूको कमी छैन । तर, बालेनले आज कोप्रति आफ्नो निशाना सोझ्याएका हुन् भन्ने चाहिँ धेरैले बुझेका छैनन् ।

बालेनका निकट सहयोगी कुमार बेनसँग हामीले यो विषयमा जिज्ञासा राख्यौँ । उनले ६–७ दिन अगाडिको स्टाटस हेर्न सुझाए । आजको स्टाटस मुख्यतः त्यही विषयसँग सम्बन्धित रहेको उनको भनाइ थियो ।

गत १७ फेब्रुअरीमा लेखेको स्टाटसमा बालेनले सार्वजनिक जग्गामा अनधिकृत तवरले बसिरहेका व्यक्तिहरूले डोजर चलाएर खोलाको बाँध भत्काएको र राज्यको माथिल्लो तह निरीह बनेको आरोप लगाएका थिए ।

स्टाटस यस्तो थियो :

यहाँ मनोहरा आयोजनामा व्यक्तिको जग्गामा अनाधिकृत तवरले बसिरहेका केहि व्यक्तिहरूले खोलाको बाँध (Retaining Wall) भत्काउन डोजर चलाएका छन् । तर राज्यको माथिल्लो तह निरीह भएर बसेको छ । गृह मन्त्रालय र सुरक्षा निकायले निजी जग्गालाई संरक्षण गर्न सुरक्षा दिन सक्दैन र त्यसलाई हडप्नेहरुले सार्वजनिक संरचनामा हुने अतिक्रमण रोक्न सक्दैन भने काठमाडौँको सुरक्षाको जिम्मा सोही व्यक्तिहरुलाई दिए हुन्छ ।

सार्वजनिक सम्पत्तिमा रहेका अनधिकृत संरचना हटाउनु नै बनाउनु हो । डोजरले भत्काएको मात्रै भन्ने गलत भाष्यले सार्वजनिक सम्पत्तिलाई सार्वजनिक बनाउँदै गरेको कर्मलाई अवमूल्यन गरेको छ । यसैले काठमाडौँ महानगरलाई यतिकै बदनाम गरिँदै छ ।

यो स्टाटसबाट स्पष्टै झल्किन्छ कि बालेन राज्यको माथिल्लो तह अर्थात् सरकारसँग निकै असन्तुष्ट छन् । त्यसो भए उनलाई राजीनामाको दबाबमा चाहिँ कसले पार्‍यो त ?

कुमार बेनले भने, ‘अनाधिकृतरुपमा कब्जा गरिएका सार्वजनिक जग्गा फिर्ता गरिरहँदा विभिन्न व्यक्ति र समूहबाट दबाब आइरहेको छ । थुप्रैपटक परिवारका सदस्यहरुलाई समेत ज्यानको धम्की र मानसिक यातना दिइएको छ । उहाँले धेरै अगाडि नै आफूलाई धम्की दिनेहरुविरुद्ध प्रहरीमा किटानी उजुरीसमेत गर्नुभएको थियो । तर, सरकार र प्रहरीले कुनै चासो नै दिएको छैन । मार्छु भनेर धम्की दिने नै प्रहरीको अघि–पछि हिँडिरहेका छन् । यसको अर्थ के अब तँ पदमा नबस भन्न खोजिएको होइन ?’

केन्द्र सरकारले महानगरको काम–कारवाहीमा असहयोग गरेकोसमेत बालेनले महसुस गरिरहेका छन् । सुरक्षा लगायतका थुप्रै कुरामा सरकारले आवश्यक समन्वय नगरिदिएको बालेनको गुनासो छ ।

बिज्ञापन