खेलकुद

यू–१९ विश्वकप छनोटः मलेसियालाई १० विकेटले पराजित गर्दै नेपालको लगातार चौथो जित

बिज्ञापन

काठमाडौं । नेपालको कसिलो बलिङसामु टिक्न नसकेको मलेसियाले आईसीसी यू–१९ एसिया रिजन विश्वकप छनोटमा १० विकेटले पराजित गर्दै नेपालले लगातार चौथो जित निकालेको छ । लगातार जित निकालेको नेपालले अन्तिम खेलमा यूएईलाई पराजित गरे २०२४ मा श्रृलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छ ।

बिज्ञापन

३५.३ ओभरमा अल आउट हुँदै मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा विना कुनै विकेटको क्षतीमा पुरा गर्यो ।
नेपालका ओपनर दिपक बोहराले २९ बलमा ८ चौकासहित सर्वाधिक ३८ रन जोडे । अर्जुन कुमालले २१ बलमा ३ चौकाको मद्दतमा २१ रन योगदान गरे ।
टस जितेर ब्याटिङ थालेको मलेसियाका ८ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा मोहमद आलिफ शामसुल बहरिनले सर्वाधिक २६ रन योगदान गरे । ओपनर मोहमद आइरिल हारिसन र मोहमद स्याहिर सयामायल साहले समान १२ रन योगदान गरे ।

नेपालको बलिङमा दिपेष कँडेलले १० ओभरमा ४ मेडन राख्दै ११ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । मिलन बोहराले ९ ओभरमा ५ मेडनसहित ८ रन खर्चिएर २ विकेट लिए । आकाश चन्दे ४।३ ओभरमा ९ रन खर्चिएर तीन विकेट लिए । सुबास भण्डारीले ९ ओभरमा २ मेडनसहित ३२ रन खर्चिएर एक विकेट लिए ।

पहिलो खेलमा सिंगापुरलाई पराजित गर्दै विजयी सुरुआत गरेको नेपालले दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराएको थियो । हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार तेस्रो जित निकालेको थियो ।

हङकङ, मलेसिया, सिंगापुर, यूएई र कुवेत सम्मिलित प्रतियोगितामा नेपालले अन्तिम खेलमा बिहीबार घरेलु टिम यूएईको सामना गर्नेछ । सिंगल राउन्ड रोबिन पद्धतिमा हुने खेलको विजेता टिमले २०२४ मा श्रीलंकामा आयोजना हुने यू-१९ विश्वकप खेल्नेछ ।

बिज्ञापन