Sudur Pradesh News

सुदूरपश्चिम प्रदेशमा केबलकार सहित २ अर्ब ६४ करोडको लागतमा होटल बन्ने

बिज्ञापन

टीकापुर, १६ फागनु । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला जालपादेवी केबलकार निर्माण हुने भएको छ। कैलालीको मोहन्याल गाउँपालिका र लम्किचुहा नगरपालिकामा केबलकारसहित होटल बने भएको हो। यसका लागि जालपादेवी केबलकार परियोजना वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पारिएको छ। आयोजनाले तयार पारेको रिपोर्ट स्वीकृतिका लागि रायसुझाव माग गरिएको छ।

बिज्ञापन

मालिका समाचारलाई प्राप्त समाचार अनुसार केबलकारको माथिल्लो स्टेशन मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने छ भने तल्लो स्टेशन लम्किचुहा नगरपालिको वडा नम्बर ३ मा पर्ने छ। केबलकारको लम्बाई ३ दशमलब १ किलोमिटर हुनेछ। केबलकारमा कुल ३४ वटा बक्स सञ्चालन हुनेछ। प्रतिबक्स यात्रु क्षमता ८ जनाको हुने कम्पनीले जनाएको छ। केबलकारले प्रतिदिन ६ हजार यात्रुलाई सेवा दिन सक्नेछ।

केबलकारको स्पिड प्रति सेकेन्ड ६ मिटरको हुने कम्पनीको दाबी छ। केबलबारको तल्लो स्टेशनबाट माथिल्लो स्टेशनसम्मको यात्रा अवधि १० मिनेटको हुनेछ। केबलकारको क्याविन दुरी २२५ मिटर हुने छ भने १५ वटा टावर हुनेछ। केबलकारमा प्रयोग हुने लठ्ठाको व्यास ४८ मीमीको हुनेछ। केबलकारको माथिल्लो र तल्लो स्टेशनमा हुने संरचना आरसीसी हुनेछ। संरचना २ तले बन्नेछ। संरचनाको भुँइ तलामा बोर्डिङ क्षेत्र, अपरेटर रुम, प्रतिक्षालय, टिकट काउन्टर र अफिस रहने कम्पनीले जनाएको छ। यसैगरी पहिलो तलामा भने रेष्टुराँ, किचेन तथा शौचालय रहने भएको छ।

यसैगरी परियोजनाभित्रै १ सय रुम तथा १ सय ६० बेडको होटल संरचना बन्ने भएको छ। होटलका लागि ३ वटा कमर्सियल भवन बन्ने कम्पनीले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ। भुँइतलासहित ६ तलाको होटल संरचना बन्ने छ। भुँइ तलामा किचन, कफी सप, पार्टी हल, रेष्टुराँ, बैठक हल र शौचालय बन्ने कम्पनीले जनाएको छ। अन्य तलामा होटलका रुमहरु रहने छ। आयोजनको कुल लागत २ अर्ब ६४ करोड रहने कम्पनीको अनुमान छ।

बिज्ञापन