राजनीति

सुदूरपश्चिममा मन्त्री बन्न माओवादीका तीनै गुट सक्रिय

बिज्ञापन

कैलाली । मुख्यमन्त्री नियुक्त भएको एक महिना बढी बितिसक्दा पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले सरकार विस्तार गर्न सकेका छैनन् । माघ २६ मा कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । २७ गते मुख्यमन्त्री शाहसँगै भौतिक पूर्वाधार विकास मन्त्रीमा काङ्ग्रेसकै प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश शाही नियुक्त भए । त्यसपछि आज सम्म अन्य मन्त्रालयहरू मन्त्रीविहीन छन् ।

बिज्ञापन

विश्वासको मत लिए लगत्तै सरकार विस्तारको तयारी भएपनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता सरकार विस्तारमा बाधक थियो । अहिले आचारसंहिता सकिएसँगै सरकार विस्तारको गृह कार्य पुन सुरु भएको छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा काठमाडौँ पुगेका माओवादी केन्द्रका नेताहरू अहिले मन्त्री बन्न तीव्र लबिङमा छन् । सुदूरपश्चिम प्रदेशमा माओवादी भित्र चार गुट भए पनि प्रदेश सभामा भने तीन गुट मात्रै छन् ।

प्रदेश सभामा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव द्वय वर्षमान पुन र जनार्दन शर्माको गुट रहेको छ ।

पुन गुटलाई अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका नेताहरूले चलाइरहेका छन् भने श्रेष्ठ गुटलाई राष्ट्रियसभा सदस्य जगत पार्की र जनार्दन गुटलाई माओवादी संसदीय दलका नेता खगराज भट्टले चलाइरहेका छन् ।

वर्षमान पुनको गुटलाई प्रचण्ड बुहारी बिना मगर, प्रदेश अध्यक्ष हरि चौधरी उत्सव र पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले चलाइरहेका छन् ।

प्रदेशसभामा नभए पनि पार्टी भित्र महासचिव देव गुरुङको गुटलाई पूर्व संविधानसभा सदस्य लक्ष्मीराज जोशी, प्रतिनिधिसभा सदस्य रुपा चौधरी, केन्द्रीय सदस्य नेप बहादुर चौधरीले चलाइरहेका छन् ।

पुस १० को गठबन्धन पछिको गठबन्धनमा सुदूरपश्चिममा मुख्यमन्त्रीको लागि अडान लिन नसकेको भन्दै खगराज भट्ट जनार्दन शर्मासँग रुष्ट छन् । त्यो बेला उनी बिनाविभागीय मन्त्री थिए । अहिले पनि उनी मन्त्री बन्ने लाइनमा छन् । शर्मा गुटमै रहेका अक्कल रावल पनि मन्त्री बन्ने लाइनमा छन् । शर्मा गुटबाट भट्ट र रावल मध्ये एक मन्त्री बन्ने छन् । स्रोतका अनुसार संसदीय दलका नेता भट्ट नै मन्त्री बन्ने अधिक सम्भावना छ ।

सुदूरपश्चिममा सबै भन्दा बलियो वर्षमान पुनको गुट रहेको छ । यसमा अहिले सम्म ओम विक्रम भाट र मानबहादुर धामी देखिए पनि पछिल्लो समय जानकी कुवर, गीता माल पनि निकट छन् ।

यी मध्ये एक जना मन्त्री बन्ने सम्भावना रहन्छ ।

नारायणकाजी श्रेष्ठको गुटमा शिवसिंह ओली र लक्ष्मी विक छन् ।

पुन निकट रहेका झपट साउद पनस अहिले भने नारायणकाजी श्रेष्ठ निकट छन् । उनी आफूलाई दुवैको निकट भएको दाबी गर्छन् । वर्षमान पुन र जनार्दन शर्मा दुवैको निकट रहेका अर्का सांसद रमेश धामी पनि हुन् ।

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले तीन मन्त्रालयमा दाबी गरिरहेको छ । तीन मन्त्रालय पाउँदा तीन गुटले एक एक मन्त्रालयको भागबन्डा लगाउने छन् ।

यसो हुँदा शर्मा गुटबाट भट्ट, पुन गुटबाट भाट र श्रेष्ठ गुटबाट ओली र साउद मध्ये एक मन्त्री बन्ने छन् । तर, अहिले माओवादीलाई तीन मन्त्रालय दिन कांग्रेस तयार छैन । दुई मन्त्रालयमा चित्त बुझाउनु पर्ने अवस्थामा तीन गुट मध्ये दुई गुटले मात्रै मन्त्रालय पाउने छ ।

बिज्ञापन