कृषि

अझैसम्म टीकापुरमा दुधको नयाँ मूल्य तोकिएन

बिज्ञापन

टीकापुर । टीकापुरमा दुधको मूल्य बढाउन बसेको बैठक विना निष्कर्ष टुङ्गिएको छ । अर्को निर्णय नहुञ्जेल यस अघिकै निर्णय यथावत रहेको छ ।
यसअघि दुधको खरिद प्रतिलिटर ५९ रुपियाँ र उपभोक्ता मूल्य प्रतिलिटर ७० रुपियाँ छ । सरकारले दुधको मूल्य प्रतिलिटर १० रुपिया बढाएपछि टीकापुरमा पनि दुधको मूल्य बढाउन किसानहरुले फागुन २८ गते नगरपालिकाको पशु विकास शाखालाई अनुरोध गरेका थिए ।
मंगलबारको बैठकमा उपभोक्ताले दुधको मूल्यमा १० रुपिया बढाउन सकिने भए पनि दुधको गुणस्तर कायम हुनुपर्नेमा जोड दिएका छन् । किसानहरुले सरकारबाट पशुको दानाको मूल्य बृद्धि रोक्न नसकेको, घाँसखेतीका लागि जग्गा दिन नसकेकाका कारण दुधको उत्पादन लागत बढदै गएकाले न्यूनतम मूल्य ७० रुपियाँ पाउनुपर्ने माग गरेका छन्। डेरी व्यवसायीहरुले भने आफूहरुले यस अघि प्रतिलिटर ११ रुपिया नाफा पाउदै आएकोमा अब किसानले ७० माग्दा आफूले पाउदै आएको नाफा पनि घटने भएकाले असहमति जनाएका छन् । 
टीकापुर नगरपालिकाका प्रमुख प्शासकीय अधिकृत लक्ष्मणबहादुर कठायतले सरकारी मापदण्ड अनुसारको दुध र मूल्य हुनुपर्ने बताउनु भएको छ ।
ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी रानाले टीकापुरका रानाले टीकापुर डेरीहरुको अनुगमन गरी मापदण्ड अनुसारको दुध मात्रै बिक्रीवितरण हुने व्यवस्था गर्नुपर्ने बताउनुभयो  ।
 टीकापुर नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा उपप्रमुख खडकबहादुर शाहले लामो छलफल हुँदा पनि मूल्य निर्धारणमा सरोकारवाला सहमत नभएकाले अर्को दिन निर्णयमा पुग्ने गरी बैठक स्थगित भएको बताउनुभयो  ।  
सरकारले काठमाडौं लगायत देशका ठूला शहरका लागि प्रशोधन गरी प्याकेजिङ दुधको मूल्य तोके पनि खुल्ला दुधको मूल्य भने स्थानीय बजारमा माग र आपूर्तिका आधारमा तोकिदै आएको छ ।

बिज्ञापन
बिज्ञापन