काट्दै गरेको रुखले किचेर महिलाको मृत्यु

सर्लाही, चैत २० गते । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका वडा नं. ६ खुटौनामा रुख ढाल्दा बाटोमा हिँडिरहनुभएकी एक महिलाको किचिएर मृत्यु भएको छ ।
सोमबार बिहान ११ः३० बजेतिर बाटो छेउमा रहेको मसलाको रुख काट्दै गर्दा अचानक रुख ढलेर किच्दा अन्दाजी ४५/५० वर्षको जस्तो देखिने पैदलयात्रु महिलाको मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन ।

उहाँ तराई मुलको जस्तो देखिनुहुन्छ । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार मृतक महिलालाई स्थानीयले चिनेका छैनन् । मृतकको साथबाट भारतीय रुपियाँ बरामद भएकाले उहाँ नेपालस्थित आफन्तकहाँ आएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरी नायब उपरीक्षक राईले मृतकको परिचय खुलाउन प्रहरी परिचालन भइरहेको बताउनुभयो । मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
लापरबाही ढङ्गले रुख लढाउने व्यक्ति फरार भएका छन् । रुख काट्ने व्यक्तिको पनि खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
