घटना समाचार

युवक मृत्यु प्रकरण : चार दिनदेखि अछाम र बाजुराका यातायात बन्द

बिज्ञापन

अछाम, चैत २८ गते । बसको ठक्करबाट घाइते भई उपचारको क्रममा निधन भएपछि अछाम र बाजुरामा सवारी साधन ठप्प भएका छन् । साँफेबगर नगरपालिका –३ का हेमराज कुँवरको बसको ठक्करबाट उपचारको क्रममा काठमाडौंमा निधन भएपछि साँफेबगर क्षेत्र भएर जाने छोटो तथा लामो दुरीका सवारी शनिबारबाट चल्न सकेको छैन ।

बिज्ञापन

अछाम र बाजुराका विभिन्न स्थानबाट साँफेबगर भएर कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्की, नेपालगञ्ज, कञ्चनपुरको महेन्द्रनगर लगायतका स्थानमा जाने सवारी साधन बन्द भएका छन् भने तराईबाट अछाम र बाजुरा आउने लामो दुरीका सवारी साधन पनि चार दिनदेखि बन्द अवस्थामा रहेका छन् ।

यस्तै, साँफेबगर क्षेत्रमा चल्ने जिप, अटोरिक्सालगायतका साना सवारी पनि ठप्प अवस्था रहेका छन् । दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले सडक र साँफेबगर बजार बन्द गरेका हुन् । आन्दोलनका कारण साँफेबगरको हाटबजार र एयरपोर्ट बजार पनि बन्द अवस्था छ ।

“साँफेबगर पूरै ठप्प अवस्थामा छ,” साँफेबगरमा रहेका रोमन भट्टले भन्नुभयो । सडक सञ्चालनका  लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय, अछामले जानकारी दिएको छ ।

कार्यालय प्रशासकीय अधिकृत मिनराज आचार्यले बस व्यवसायी र मृतकका आफन्तबीच छलफलका लागि समन्वय भइरहेको जानकारी दिनुभयो । बस व्यवसायी समितिका प्रतिनिधिलाई अछाम बोलाएर पीडितसँग छलफलको तयारी भइरहेको बताइएको छ । तर बस व्यवसायी समितिका प्रतिनिधिले भने डोटी प्रशासन कार्यालयमा छलफल हुनुपर्ने मागका कारण केही ढिलाइ भइरहेको भनाइ आचार्यको छ ।

नगरपालिकाद्वारा चिकित्सक र स्वास्थ्यकर्मीमा छानबिनको माग

उपचारको क्रममा निधन भएपछि नेपालगञ्जस्थित वेस्टर्न अस्पताल चिकित्सक तथा स्वास्थ्यकर्मीमा छानबिन गर्न साँफेबगर नगरपालिकाले माग गरेको छ । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, अछामलाई पत्र लेखेर साँफेबगर नगरपालिका–३ का हेमराज कुँवरको मृत्युको मृत्युमा जाँचबुझ तथा छानबिनका गृह मन्त्रालयमा लागि लेखि पठाउन अनुरोध गरेको छ ।

मृतक हेमराजको उपचारमा संलग्न भएको नेपालगञ्जको वेस्टर्न अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूमा छानबिनको माग पत्रमा गरिएको छ । जिल्लामा मृतकका आफन्तले आन्दोलनका क्रममा हेमराजको मृत्युमा बसका सञ्चालक र अस्पतालको मिलेमतो भएको दाबी गरिरहेका छन् ।

चैत १९ गते साँफेबगरमा बसले मोटरसाइकललाई ठक्कर दिएपछि थप उपचारका लागि नेपालगञ्ज वेस्टर्न अस्पतालमा चैत २० गते भर्ना गरेर बेलुकी ८ बजेतिर भाँचिएको खुट्टाको शल्यक्रिया गरिएको उल्लेख गरिएको छ । शल्यक्रियापछि नेपालगञ्जस्थित लाइफलाइन अस्पतालमा मिर्गौलाको डाइलासिस गरेको, जीवनरक्षा अस्पतालमा सिटी स्क्यान गरेको र वेस्टर्न अस्पतालमा उपचार गरेको मृतकका आफन्तको उद्धृत गर्दै प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ ।

बिरामीको होस नखुलेपछि वेस्टर्न अस्पतालका डा. पारस पाण्डे, डा. किरण गुरुङ, डा. विनोद थापा र राहुल थापाको सल्लाहमा काठमाडौंको ह्याम्स अस्पताल लैजान सुझाव दिनुभएको थियो । सुझाव चिकित्सकले सुझाव दिएपछि एक छिन अगाडि स्थिर अवस्थामा देखेको बिरामी एयरपोर्ट लैजान निकाल्दा मरेतुल्य भएको र एयर एम्बुलेन्समा काठमाडौंको ह्याम्स अस्पतालमा उपचार नहुँदै मृत्यु घोषणा भएको प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ ।

साँफेबगर नगरपालिका–३ का हेमराज कुँवर र सरस्वती कुँवर सवार मोटरसाइकललाई सोही नगरपालिका–७ को रिडिकोटको वडा कार्यालय नजिक बसले ठक्कर दिएको थियो । सोही दुर्घटनामा पर्नुभएकी सरस्वती पनि उपचारका क्रममा हुनुहुन्छ ।

बिज्ञापन