अवर्गीकृत

संस्कृत विद्या वैज्ञानिक छ : मोहन वैद्य

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

देउखुरी । नेकपा (माओवादी क्रान्तिकारी)का महासचिव मोहन वैद्यले आर्दशवाद र भौतिकवादको विषयमा चर्चा भइरहँदा संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक रहेको बताएका छन् ।

उनले भने, ‘संस्कृत विद्याभन्दा सबै कर्मकाण्डी भन्ने भ्रम छ । यो अकाट्य कर्मकाण्डा हो भन्ने बुझाइ छ, त्यो बिल्कुलै गलत हो । संस्कृत भनेको आदर्शवाद हो भौतिकवाद पनि हो । यसको महत्व र गरिमा नबुझ्दा धेरैलाई गलत भ्रम परेको हो ।’ नेपाल समाजमा परम्पराका निरन्तरता रहेको हुँदा यसमा नवीनता तिर पनि जानुपर्ने अवस्था रहेको आवश्यकता औँल्याए ।

बिज्ञापन

आफ्नी आमा जानका वैद्य पोखरेलको शत वर्ष प्रवेशको अवसरमा आयोजित अभिनन्दन कार्यक्रमलाई शुक्रबार घोराहीमा सम्बोधन गर्दै उनले संस्कृत विद्याका बारेमा बुझाइ स्पष्ट नहुँदा धेरैलाई कर्मकाण्डी भन्ने भ्रम रहेको जिकिर गरे । देश र समाज रुपान्तरणको अभियानमा लामो समयदेखि होमिने तागत र हौसला ९७ वर्षीया आमा जानका वैद्यबाट आफूले पाएको बताउँदै महासचिव वैद्यले संस्कृत विद्यामा धेरै कुरा प्रमाणित र वैज्ञानिक रहेको विश्वास व्यक्त गरे ।

उनले संस्कृत भाषाका बारेमा राम्रो ज्ञान नहुँदा पनि बुझाइमा समस्या भएको बताउँदै यसका जानकारले पनि गलत प्रयोग गर्न खोज्दा समस्या भएको हुन सक्ने तर्क गरे । ‘हामीले बोल्ने अङ्ग्रेजी, हिन्दी, उर्दु, मैथिली भाषामा पनि थुप्रै विद्या हुन्छन् । यसमा ज्ञान हुन्छन् । त्यसैगरी, संस्कृत विद्यामा पनि विज्ञान छ, ज्योतिष छ, गणित छ, सबै चिज छ । त्यसैले संस्कृत विद्या वैज्ञानिक छ’, उनले भने । ‘हिजोको पूर्खाले गरेको काम आजको भौतिकवादी कुरा हो । तर, यसमा कतिपय संस्कृतका विद्वानले संस्कृत कुराका पुराना कुरालाई मात्रै उठान गरेर गलत अभ्यास गरे । यसमा पनि नवीन कुरा छ । विज्ञान छ, आदर्शवाद छ । भौतिकवाद, द्वन्द्ववाद छ भन्ने कुरा बुझाउन जरुरी छ ।’

उनले नेपालमा युग सुहाउँदो संस्कृति रुपान्तरणको अभियानमा सबै सकारात्मक रुपमा अघि बढ्नुपर्ने बेला आएको बताए । जीवित रहँदासम्म आफ्ना आमाबुवालाई राम्ररी हेरचाह, रेखदेख नगर्ने, मरेपछि श्राद्ध गर्नुभन्दा बाँच्दासम्म सम्मान गर्न जरुरी रहेको उनको भनाइ छ । उनले आफ्ना पितृलाई सम्मान गरेर नयाँ संस्कृतिको जग बसाल्न खोजेको बताउँदै परम्परागत संस्कृतिले विकृति निम्त्याएको हुँदा नवीन संस्कृतिको अभ्यासको थालनी आफूहरुले गरेको बताए । ठूलो मान्छे होइन असल मान्छे बनाउन आफ्ना सन्तानलाई सिकाउने काम जानका वैद्यले गरेको कार्यक्रमका वक्ताको भनाइ थियो ।

सामाजिक, सांस्कृतिक शैक्षिक आन्दोलनका लागि छोराहरूलाई शिक्षाको ओज दिएर आमाले दायित्व पूरा गरेको उनीहरूको भनाइ थियो । साबिक ढिकपुर–७ अस्परी निवासी हाल घोराही–१५ रतनपुर निवासी जानका वैद्य पोख्रेलका ७ भाइ छोरा र १ छोरी छन् । जसमध्ये मोहन वैद्य जेठा छोरा छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।