राजनीति

मिटरब्याज पीडितले मागे गृहमन्त्रीको राजीनामा

बिज्ञापन

काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । मंगलबार रत्नपार्कस्थित शान्तिवाटिकामा पत्रकार सम्मेलन गर्दै मिटर ब्याज पीडित तथा किसान–मजदुर सङ्घर्ष समितिले सरकार नै आफूहरूको आन्दोलन दबाउन उद्यत रहेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् ।

बिज्ञापन

सो क्रममा प्रदर्शन गर्दै उनीहरुले ‘किसान मजदुर विरोधी गृहमन्त्री राजीनामा दे, प्रहरीको दमन बन्द गर, महिलामाथिको दुर्व्यवहार बन्द गर, पीडित किसानहरुको शान्तीसुरक्षा कायम गर’ लगायतका नारा लगाएका थिए ।

राज्यबाटै आफूहरूको आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम गरेको भन्दै उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र मिटरब्याजी पीडितको शान्तिसुरक्षा कायम गर्न माग गरेका छन् । सोमबार मिटरब्याज पीडितहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।

सो क्रममा प्रहरीले ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि कुटपिट गरेको, महिलामाथि पुरुष प्रहरीले आक्रमण तथा दुर्व्यवहार गरेको उनीहरुले आरोप लगाएका छन् । पीडितले सहयोगी तथा शुभचिन्तकबाट सहयोग जुटाएर जम्मा गरेको अनाज, ग्यास, ग्यास चुलो, स्पिकर र भाँडाकुँडासमेत प्रहरीले लुटेको सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले बताए ।

सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा ५ बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै अर्को समूह २० चैतदेखि काठमाडौंमा आन्दोलनरत छन् ।

बिज्ञापन