राष्ट्रिय समाचार

मौका पाएसम्म निजी क्षेत्रले कर छल्ने प्रयास गर्छन् : प्रधानमन्त्री

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, वैशाख ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र अझैपनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयासमा रहने गरेको बताउनुभएको छ । शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुन नसकेको बताउनुभयो । उहाँले निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोचबाट राज्य मुक्त हुनुपर्ने औंल्याउनुभयो । प्रधानमन्त्रीले दुवैतर्फबाट यस्ता अनुचित सोच नत्यागेसम्म अर्थतन्त्रले गति लिन नसक्ने बताउनुभयो ।

बिज्ञापन

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोचबाट राज्य पनि मुक्त हुन जरुरी छ । निजी क्षेत्रले पनि राज्यलाई यो हामीलाई मात्रै दबाउने वा अठ्याउने वा निचोर्ने संस्था हो भन्ने सोचबाट मुक्त हुन जरुरी छ । राज्य पनि निजी क्षेत्रलाई दबाउने भन्ने मानसिकतामा हुन्छ भने निजी क्षेत्र पनि मौका पाएसम्म राज्यलाई करमा हुन्छ की अन्य के मा हुन्छ छल्ने र अघि जाने भनेको जस्तो मानसिकता अझै बदलिएको छैन । यो सोचमा बदलाव नआइकन हुँदैन ।’’

प्रधानमन्त्री प्रचण्डले अहिले विचार, सिद्धान्त, राजनीति, मूल्य, मान्यताको कुरा विस्तार हराउँदै उपभोक्तावादतिर समाज गइरहेको बताउनुभयो । उहाँले राजनीति र समाज नै राष्ट्र, समाज र आम जनताको दीर्घकालीन हिततिरभन्दा तत्काल नाफा नोक्सानतिर केन्द्रित हुने गरेको आरोप लगाउनु भयो । उहाँले राजनीतिमा पनि राजनीतिक एजेण्डातिर भन्दा आवेगतिर जाने खतरा पैदा भइरहेको उल्लेख गर्नुभयो ।

‘‘आजभोलि त विचार, सिद्धान्त, राजनीति, मूल्य, मान्यताको कुरा बिस्तारै बिस्तारै हराउँदै उपभोक्तावादतिर तत्काल नाफा नोक्सानतिर, राष्ट्र, समाज र आम जनताको दीर्घकालीन हिततिर भन्दा तत्कालीन विषयतिर जान थालेको छ । राजनीतिमा पनि राजनीतिक एजेण्डातिर भन्दा आवेगतिर सेन्टीमेण्टतिर जाने हो की भन्ने खतरा देखापरेको छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘त्यसैले पहिला त हामीले हाम्रो नेपाली सोच भनेको के हो ? हामीले पुँजीवादले विकास गरेका नवउदारवाद सम्मका कुरादेखि लिएर बजारमुखी अर्थतन्त्रका कुरादेखि लिएर समाजवादले विकसित गरेका सामाजिक न्यायसँग सम्बन्धित कयौँ कुरालाई पनि आत्मसाथ गरेर हामीले संविधानमा व्यवस्था गरेका छौँ । एकातिर राजनीतिक प्रतिस्पर्धा (बहुदलीय प्रतिस्पर्धा) को राजनीतिक प्रणाली भनेका छौँ भने अर्कोतिर हामी समाजवाद उन्मुख राज्यको परिकल्पना पनि संविधानमा नै गरेका छौँ ।’’

प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको रणनीतिबारे राजनीतिक दलहरूले साझा धारण बनाउन नसक्दा देशको विकासमा ढिलो भइरहेको बताउनभयो । उहाँले विदेशीले विकसित गरेका विचार, दर्शन, सिद्धान्त, मान्यताको अन्ध अनुकरण गन प्रवृत्ति हाबी हुँदै गएको औँल्याउनुभयो ।

उहाँले नेपालको इतिहास, संस्कृति, भूगोल, आर्थिक जीवनले विस्तृत गरेका मान्यताहरू परिभाषित गर्ने दिशातिर सरकारले ध्यान दिन नसकेको बताउनुभयो । प्रधानमन्त्रीले अहिले पनि अधिकांशमा केन्द्रीकृत मानसिकता नै हाबी हुने गरेको बताउनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।