National Election

रास्वपाले आचारसंहिता उल्लंघनमा माफी मागेपछि भोजाड केन्द्रको मतदान पुनः संचालन

बिज्ञापन

चितवन — रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेपछि चितवनको निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा स्थगित भएको मतदान सुरु भएको छ । रास्वपाका कार्यकर्ताहरूले मतदान स्थलमा नाराबाजी गर्दै भीडभाड गरेपछि मतदान अवरुद्ध भएको थियो ।

बिज्ञापन

नयाँ किरण मावि भोजाड केन्द्रमा रहेको मतदान स्थलमा दुई घण्टाभन्दा बढी समय मतदान स्थगित भएको थियो ।

निर्वाचन आयोगको पहलमा रास्वपा र अन्य दलका प्रतिनिधिबीच चार बुँदे समझदारी भएसँगै मतदान पुनः सुरु भएको हो । जसको पहिलो बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम संचालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो ।’

रास्वपाका प्रतिनिधिले क्षमायाचना गरेपछि मतदान पुनः सुरु भएको बताइएको छ ।

त्यस्तै, मतदान स्थलको ३ सय मिटर वरपर सुरक्षा कायम गर्ने निर्णय पनि भएको छ । आचारसंहिता उल्लंघन गरेको विषयमा मुख्य निर्वाचन कार्यालयलाई लेखी पठाउने निर्णय पनि गरिएको छ । साथै ३ सय मिटर वरपर शान्ति सुरक्षा कायम गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच कृष्णपुर माविमा केही बेरसम्म अवरुद्ध भएको मतदान पनि पुन: संचालनमा आएको छ ।

बिज्ञापन